स्तन क्यान्सरको बहिरङ्ग सेवा निःशुल्क


२७ आश्विन २०८०, शनिबार
CMC chitwan medical collage

चितवन । चितवन मेडिकल कलेज शिक्षण अस्पतालको भगिनी संस्था सिएमसी क्यान्सर इन्स्टिच्यूटमा स्तन क्यान्सरको परीक्षण निःशुल्क गरिएको छ । अक्टोबर महिनाभरी स्तन क्यान्सरको बहिरङ्ग (ओपिडि) सेवा निःशुल्क गरिएको हो ।

आज यहाँ आयोजित पत्रकार सम्मेलनमा अस्पतालका प्रमुख कार्यकारी अधिकृत प्रताप देवकोटाले स्तन क्यान्सर स्क्रिनिङका लागि मेमोग्राम र ब्रेष्ट युएसजीमा ३० प्रतिशत छुट दिइएको जानकारी दिए । उनका अनुसार अस्पतालले स्तन क्यान्सरसम्बन्धी जनचेतनामूलक कार्यक्रम गर्दै आएको छ ।

यो महिनाको प्रत्येक शुक्रबार विद्यालय तथा क्याम्पसमा गएर छात्रालाई स्तन आफैँले कसरी परीक्षण गर्ने भन्नेबारे प्रशिक्षण दिने गरिएको देवकोटाले बताए । ‘नौ कक्षाभन्दा माथिका छात्राका साथै विद्यालय र क्याम्पसमा कार्यरत महिला कर्मचारीलाई स्तनमा हुने गाँठागुँठी तथा गिर्खाको पहिचान कसरी गर्ने, कसरी आफैले थाहा पाउन सकिन्छ भन्ने विधि सिकाउने गरिएको छ’, उनले भने ।

अस्पतालका अङ्कोलोजिष्ट डा. सुवास ठाकुरले महिनाको एक दिन छुट्याएर आफ्नो स्तन आफैले परीक्षण गर्नुपर्ने बताए । उनले गाँठागुँठी भेटिएमा चिकित्सकको परामर्श लिनुपर्नेमा जोड दिए । उनले भने, ‘स्तनका सबै गाँठागुँठी क्यान्सर हुँदैनन् । तर गाँठागुँठी देखिए क्यान्सर हो / होइन भन्ने यकीन गर्नुपर्छ ।’ परीक्षणका क्रममा मेमोग्राम र युएसजी गरेर यकीन गर्न सकिने ठाकुरको भनाइ थियो । क्यान्सर इन्स्टिच्यूमा बढीमात्रामा मुख, जिब्रो, घाँटी, पाठेघर, स्तन र फोक्सोका क्यान्सर भएका बिरामी आउने गरेका उनले जानकारी दिए ।

कार्यक्रममा अस्पतालका निर्देशक डा. दयाराम लम्सालले स्तन क्यान्सर समयमै पहिचान गर्नसके उपचार गर्न सहज हुने भन्दै पहिचान भएकामा निको हुने दर पनि उच्च रहेको जानकारी दिए । उनका अनुसार स्तन क्यान्सर महिलामा मात्रै नभएर पुरुषमा पनि हुने गर्दछ । हरेक एक लाख जनसंख्यामा चार/ पाँच जना पुरुषलाई स्तन क्यान्सर हुने गरेको उनले बताए । विश्व स्वास्थ्य सङ्गठनले हरेक वर्ष अक्टोबर महिनालाई स्तन क्यान्सर सचेतना महिना (ब्रेष्ट क्यान्सर अवारनेश मन्थ) का रुपमा विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाउने गर्दछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७