जेठयता १२ अर्बको विजुली निर्यात, असोजमा मात्रै चार अर्बको


१ कार्तिक २०८०, बुधबार
elect
फाइल फोटो

काठमाडौं । नेपालले एक महिना (असोज) मा मात्र चार अर्ब दुई करोडको विद्युत् निर्यात गरेको छ । गत जेठयता भने १२ अर्बको विद्युत् निर्यात भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । जेठदेखि असोजसम्म ११ अर्ब ८० करोड २८ लाख रुपैयाँको विद्युत् भारततर्फ निर्यात भएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् यस वर्ष गत २८ जेठबाट भारतमा बेच्न थालेको थियो । प्राधिकरणले चालू आर्थिक वर्ष २०८०/८१ को साउन, भदौ र असोज ३ महिनामा ९ अर्ब ६४ करोड ५४ लाख रुपैयाँको विद्युत् भारतर्फ निर्यात गरेको छ । असोज महिनामा मात्र ४ अर्ब २ करोड ३५ लाख रुपैयाँको विद्युत् निर्यात गरिएको छ ।

b

तीन महिनामा भारततर्फ निर्यात गरिएको विद्युतको औसत दर प्रतियुनिट १० रुपैयाँ २७ पैसा रहेको छ । गत जेठ महिनाका पाँच दिनमा ४० करोड ५ लाख र असारमा १ अर्ब ७५ करोड ७० लाख रुपैयाँको विद्युत् भारतर्फ निर्यात भएको थियो । जेठ र असारमा भारतर्फत निर्यात गरिएको विद्युतको औसत दर प्रतियुनिट ९ रुपैयाँ ६७ पैसा थियो ।

साउनमा २ अर्ब १४ करोड ३३ लाख, भदौमा ३ अर्ब ४७ करोड ८५ लाख र असोजमा ४ अर्ब २ करोड ३५ लाख रुपैयाँको विद्युत् भारतीय बजारमा निर्यात भएको छ । तीन महिनामा ९ अर्ब ६४ करोड ५४ लाख रुपैयाँको विद्युत् निर्यात भएको हो ।
साउन, भदौ र असोजमा भारतर्फ निर्यात गरिएको विद्युतको औसत बिक्री दर प्रति युनिट क्रमशः ८ रुपैयाँ ४३ पैसा, ११ रुपैयाँ ९७ पैसा र १० रुपैयाँ २० पैसा रहेको छ । तीन महिनाको विद्युत् समग्र औसत बिक्री दर प्रति युनिट १० रुपैयाँ २७ पैसा छ ।

विद्युत् निर्यातबाट नेपाल र भारतबीचको व्यापार घाटा कम गर्न र देशको विदेशी मुद्रा सञ्चितीमा योगदान पुगेको छ । प्राधिकरणले आइएक्सको डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत र केहीअघिबाट मध्यकालीन विद्युत् सम्झौताबमोजिम करिब ११० मेगावाट विद्युत् भारतीय कम्पनी एनटीपीसी विद्युत् व्यापार निगम लि–एनभीभीएनलाई बिक्री गरिरहेको छ । एनभीएनले उक्त विद्युत् हरियाणा राज्यमा बिक्री गरिरहेको छ ।

भारतको केन्द्रीय विद्युत् प्राधिकरणले प्रतिस्पर्धी बजारमा निर्यातका लागि स्वीकृति दिइएकै ५२२ मेगावाटमध्येबाट पहिलो चरणमा करिब ४४ मेगावाट विद्युत् रियल टाइम मार्केटमा बिक्रीलाई पनि अनुमति दिएको छ । प्राधिकरणले प्रतिस्पर्धी बजारमा ५२२ मेगावाट र एनभीभीएनलाई ११० मेगावाट गरी ६३२ मेगावाट विद्युत् निर्यातका लागि स्वीकृति पाएको छ ।

यसमध्ये ढल्केबर–मुजफ्फपुर ४०० केभी अन्तरदेशीय प्रसारणलाइनबाट ५६२ मेगावाट र महेन्द्रनगर–टनकपुर १३२ केभी प्रसारणलाइनबाट ७० मेगावाट विद्युत् निर्यात भइरहेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अहिलेको अवस्थालाई हेर्दा यस वर्ष करिब १६ अर्ब रुपैयाँको विद्युत् निर्यात हुन सक्ने देखिएको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७