निरन्तर संसद अवरुद्ध भए यो व्यवस्था नै कमजोर हुन्छ : रमेश लेखक


१६ कार्तिक २०८०, बिहीबार
Ramesh lekhak scaled

काठमाडौँ । नेपाली कांग्रेसका संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले निरन्तर संसद् अवरुद्ध भए यो व्यवस्था नै कमजोर हुने बताएका छन् । आज (बिहीबार) प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै उनले वैशाख २४ गतेदेखि सुरु भएको बर्खे अधिवेशन ७ महिना चल्दा ११ पटक सूचना टाँस गरेर स्थगित भएको र विभिन्न कारणले पटक पटक अवरोध भएको बताए ।

सांसद लेखकले भने, ‘संसदमा विभिन्न विचार भावहरूको टकराब हुनु स्वाभाविक हो । आफ्ना दृष्टिकोणहरूलाई जनताका सामु लैजानका लागि सदनका मार्फत ध्यानाकर्षण गराउने कुरा जाहेज छ । यो संसदीय अभ्यासमा जायज हुन्छ तर लामो समयसम्म निरन्तर रुपले पटक–पटक यदी सदन अवरोध हुन थाल्यो भने यसले सदनको प्रभावकारितालाई कमजोर गर्छ । संसद्को प्रभावकारिता कमजोर भयो भने सरकारको मात्रै हैन यो व्यवस्था नै कमजोर भयो कि भन्ने सन्देशको सम्प्रेषण हुन्छ । त्यसले यो व्यवस्थाका विरुद्धमा जुन प्रायोजित विचारहरू आइरहेका छन्, जुन भाष्यहरू निर्माण भइरहेका छन्, त्यसले स्वाभाविक रूपमा बल पुग्दछ ।’

उनले सदनको अवरोध किन हुन्छ, केका लागि भइरहेको छ त्यसबारेमा संवादमा बसेर समाधान गर्न आग्रह गर्दै अर्को संसद् अधिवेशनबाट संसद् अवरोध नहुने वातावरणका लागि आग्रह गरे । संविधान जारी भएको ८ वर्ष बितिसक्दापनि केही महत्घवपूर्ण कानुन बन्न नसकेको बताउँदै सांसद लेखकले मौलिक हकसँग सम्बन्धित कानुन अझै बन्न नसकेको बताए ।

सङ्घीयताको कार्यान्वयनको लागि सङ्घीय सरकार र संसद् प्रभावकारी भएर मात्र नहुने बताउँदै प्रदेश सरकार, प्रदेश सभा र स्थानीय तहपनि सबल हुनुपर्नेमा जोड दिए । सङ्घले कानुन निर्माण गर्न नसकेकोले प्रदेश सरकार कमजोर हुन पुगेकोले ती विषयसँग सम्बन्धित कानुनको मस्यौदा बनाएर संसदमा ल्याउन सरकारलाई आग्रह गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७