सामुहिक बलात्कार प्रकरण : कराँतेका दुई प्रशिक्षकलाई जनही आठ वर्ष कैद


२२ कार्तिक २०८०, बुधबार
karate

मोरङ । जिल्ला अदालत मोरङले सामुहिक बलात्कार प्रकरणमा कराँतेका दुई प्रशिक्षकलाई जनही आठ वर्ष कैद सजायको फैसला गरेको छ ।

न्यायाधीश अम्बिकाप्रसाद दाहालको इजलासले कराँतेका प्रशिक्षकहरू विराटनगर महानगरपालिका–४ का सुरज भनिने अमर सुवेदी र विराटनगर–३ का विनोद राउतलाई जनही आठ वर्ष कैद सजाय हुने फैसला बुधबार गरेको हो । जबरजस्ती करणीतर्फ जनही सात वर्ष र सामुहिक करणीतर्फ थप एक वर्ष गरेर आठ वर्ष कैद सजायको फैसला भएको जिल्ला अदालत मोरङका सूचना अधिकारी ओमराज सुवेदीले जानकारी दिए ।

उनका अनुसार दुवै जनालाई जनही तीन लाख जरिवाना समेत गरिएको छ । जबरजस्ती करणी मुद्दा चलाइएका उनीहरूलाई अदालतले एक साताअघि दोषी ठहर गरेको थियाे । यसअघि नै कसूरदार ठहर भएका दुवै जनाको सजाय निर्धारण भने बुधबार भएको सुवेदीले बताए । फौजदारी कार्यविधि संहिता २०७४ बमोजिम ३ वर्ष भन्दामाथि कैद सजाय हुने मुद्दामा कसूर कायम र सजाय निर्धारण छुट्टाछुट्टै गर्नुपर्ने कानुनी व्यवस्था छ । सुवेदी र राउत राष्ट्रिय खेलकुद परिषद् (राखेप) का स्थायी प्रशिक्षक थिए ।

आफूलाई विराटनगरकै एउटा होटलमा लगेर २०७९ जेठ अन्तिम साता सामुहिक बलात्कार गरेको भन्दै सुनसरीको इटहरी घर भई विराटनगरको विराट हेल्थ कलेजमा अध्ययनरत छात्राले उनीहरूविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएकी थिइन् । प्रहरीले २०७९ साउन ८ गते पक्राउ गरेर दुवै जनालाई अनुसन्धानको दायरामा ल्याएको थियो ।

प्रहरीको अनुसन्धानबाट छात्रालाई नसालु पदार्थ सेवन गराएर बलात्कार गरेको यकिन भएको थियो । सुवेदी छात्रा अध्ययनरत कलेजका अनुशासन इन्चार्ज थिए । परीक्षामा सहयोग गर्ने बहानामा नजिकिएका सुवेदीले बारम्बार बलात्कार गरेको पीडित छात्राको भनाइ छ । पछि साथीलाई समेत बोलाउँदै दुवै जनाले सामूहिक बलात्कार गरेको पीडितले किटानी जाहेरीमा खुलाएकी थिइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७