विश्वकप छनोटमा यूएईसँग खेल्ने टोली घोषणा, अनन्त तामाङ बाहिरिए


२४ कार्तिक २०८०, शुक्रबार
Nepali football team

काठमाडौं । फिफा विश्वकप र एएफसी एसिया कपको संयुक्त छनोटअन्तर्गत सयुंक्त अरब इमिरेट्स (युएई) विरुद्धको खेलमा प्रतिस्पर्धा गर्ने राष्ट्रिय पुरुष टोलीको घोषणा भएको छ ।

नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले आज २३ सदस्यीय नेपाली टोलीको घोषणा गरेका हुन् । अभ्यासका क्रममा घाइते भएका टोलीका अनुभवी डिफेन्डर अनन्त तामाङलाई भने टोलीमा समावेश गरिएको छैन । नेपालले कात्तिक ३० गते यूएईसँग उसैको घरेलु मैदानमा खेल्ने छ ।

त्यसपछि नेपालले आगामी मङ्सिर ५ गते दशरथ रङ्गशालामा यमनसँग खेल्ने छ । विश्वकप एसिया छनोटको दोस्रो चरणको समूह ‘एच’ मा रहेको नेपालको समूहमा युएई, बहराइन र यमन रहेका छन् । पहिलो चरणमा नेपालले लाओलाई पराजित गर्दै दोस्रो चरणमा छनोट भएको हो ।

युएईसँग खेल्ने नेपाली टोलीमा किरणकुमार लिम्बू, दीप कार्की, अभिषेक बराल, सनिश श्रेष्ठ, रोहित चन्द, अन्जन राई, आशिष चौधरी, अमृत श्रेष्ठ, एरिक विष्ट र छिरिङ लामा छन् । यसैगरी, समूहमा योगेश गुरुङ, लकेन लिम्बु, उत्सव राई, क्रितिश रत्न छुन्जु, मनिष डाँगी, सेसेहाङ आङदाम्बे, निशान हमाल, अञ्जन विष्ट, आयुष घलान, जिलेस्पीजङ् कार्की, हिसुब थपलिया, सञ्जीव विष्ट र राजेश परियारलाई नेपाली टोलीमा समावेश गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७