चिसोकाे मारमा भूकम्पपीडित : दुईको मृत्यु, अझै पुगेन राहत (तस्वीरहरु)

पानी परेपछि थपियो चिन्ता, स्वास्थ्य समस्या बढ्दै


२५ कार्तिक २०८०, शनिबार
Bhukampa jajarkot 9 scaled

जाजरकोट । जिल्ला विपद् व्यवस्थापन समितिले भूकम्पपीडितलाई पुग्ने गरी राहत सामग्री पठाएको दाबी गरे पनि सबै भूकम्पपीडितकहाँ अझै राहत सामग्री पुगेको छैन । भूकम्पका कारण घरबिहीन बनेका प्रभावित खुला चौरमा त्रिपाल र खाद्यान्नको कुरिरहेका छन् । त्यसमाथि आज विहान पर्न थालेको पानीले थप जोखिम थपेको छ । भूकम्पले चर्किएका घर पानीले भत्काउने सम्भावना बढेको छ । त्रिपालबिना खुला चौरमा बसिरहेका सर्वसाधारणमा ज्वरो, टाइफाइड सुरु भएको नलगाड नगरपालिका–८ का रामप्रसाद खत्रीले बताए ।

Bhukampa jajarkot 1 2

बारेकोट गाउँपालिका–१ धौलाकोटमा पनि राहत सामग्री पुग्न सकेको छैन । स्थानीय हरिबहादुर थापाले भूकम्पपीडितमा चिसोका कारण ज्वरो र झाडापखाला देखा परेको बताए । उनले भने, ‘गाउँपालिकासँग जति पटक माग्दा पनि राहत पाइएको छैन, भूकम्पको केन्द्रविन्दु रामीडाँडादेखि धौलाकोट नजिकैको गाउँ हो तर अहिलेसम्म त्रिपाल पनि पुगेको छैन ।’ बारेकोट चिसो ठाउँ हो । बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले राहत पर्याप्त नभएको र सबैले नपाएको बताए । उनका अनुसार बारेकोटमा अझै एक हजार सात सय थान त्रिपाल अपुग छ ।

Bhukampa jajarkot 2 3

नलगाड नगरपालिकामा पनि सबैलाई राहत पुगेको छैन । नगरपालिकाको वडा नं १ देखि ७ सम्म राहत वितरण गरिए पनि वडा नं ८ देखि १३ का बासिन्दाले राहत सामग्री पाएका छैनन् । नलगाड वडा नं ८ बारेकोट गाउँपालिकाको वडा नं ८ सँग जोडिएको पालिका हो भने वडा नं ९ बारेकोटको धुमालगायतका क्षेत्रसँग जोडिएको क्षत्र हो । नलगाड वडा नं ८ पालिकामा सबैभन्दा धेर जनसङ्ख्या भएको क्षेत्र हो । त्यहाँ केही संस्थाले आफूखुसी राहत सामग्री वितरण गर्दा सबैले नपाएको स्थानीय भीमबहादुर खत्रीले बताए । प्रभावकारीरुपमा अनुगमन तथा निरीक्षण नगरी निर्णय गर्दा आफूहरु पीडित भएको उनको भनाइ छ ।

Bhukampa jajarkot 3 1

भूकम्पका कारण नलगाड–८ का सबै घरमा क्षति पुगेको छ । बतासे चिउरी बर्मा वन सामुदायिक संस्थाका सचिव जयबहादुर खत्रीका अनुसार बाहिरबाट हेर्दा सग्लो घर देखिए पनि बस्न लायक कुनै पनि घर छैनन् । आज विहानदेखि पर्न थालेको पानीले प्रभावितलाई थप पीडा दिएको छ । अधिकांश घरबाट छाएको ढुङ्गा झरेका छन् । भूकम्पले चिराचिरा पारेको घर पानी पर्न सुरु भएसँगै भत्कने चिन्ता थपिएको छ । कसैले एकसरो त्रिपाल नपाएको अवस्थामा कसैलाई दुई पटकसम्म दिएका पाइएको भेरी नगरपालिका–३ का रामकली थापाले बताए ।

Bhukampa 2 2

सदरमुकाम खलङ्गामा कोठा भाडामा लिएर बस्नेलाई कसैले पनि राहत पाएका छैनन् । राहत माग्न जाँदा घर मालिकको मात्रै नाम भेटिने गरेको र आफूहरुलाई सूचीमा नाम नै नभएको बारेकोट गाउँपालिका–४ घर भई सदरमुकाममा बस्दै आएका मालबहादुर सिंहले गुनासो गरे । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य प्रभात चलाउनेले पालिकामा धेरै राहत आएको भनिए पनि अझै ४० प्रतिशतले राहत नपाएको बताए ।
भूकम्पपीडितमा देखिन थाल्यो स्वास्थ्य समस्या
भूकम्पबाट प्रभावित नागरिकमा स्वास्थ्य समस्या देखिन थालेको छ । खुला चौरमा त्रिपाल र कम्बलको भरमा रात कटाउनु पर्दा अत्यधिक जाडोका कारण स्वास्थ्यमा समस्या देखिन थालेको हो ।

अत्यधिकरुपमा बढेको जाडोका कारण बिहीबार र शुक्रबार दुई जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा नलगाड नगरपालिका–४ लहँका ४८ वर्षीया महिला पम्फा रावल र सोही वडाकै ८४ वर्षीय गोपालबहादुर रावल छन् । वडाध्यक्ष बद्री पन्तका अनुसार गोपालको दम रोगका कारण र पम्फाको निमोनियाका कारण मृत्यु भएको हो । चिसोले निमोनिया भएपछि उपचारका क्रममा दल्लीस्थित नगर अस्पतालमा पम्फाको मृत्यु भएको उनले बताए । वडाध्यक्ष पन्तका अनुसार लहँमा तुसारो परेको र सिरेठो जाडो पनि बढ्दै गएपछि एकसरो लुगा र त्रिपालका भरमा रात काट्नुपर्ने बाध्यताका कारण ज्येष्ठ नागरिक, बालबालिका र दीर्घरोगीमा स्वास्थ्य समस्या देखिन थालेको छ ।

उनका अनुसार तीन सय ७५ घरधुरी रहेको वडामा नं ४ मा दम, बाथ र मुटु रोगी ३० ज्येष्ठ नागरिक र ३० जना सुत्केरीको व्यवस्थापन गर्न समस्या भएको छ । बालबालिका बिरामी हुन थालेको भन्दै वडाध्यक्ष पन्तले चिसोले स्वास्थ्य अवस्था बिग्रँदै जाँदा बिरामीको संख्या बढ्न थालेको बताए ।

Bhukampa jajarkot 4 1

दल्ली नगर अस्पतालका डा. विशाल उप्रेतीले चिसोका कारण ज्वरो, रुघाखोकी, झाडापखाला, मुटुरोग र दमका बिरामी बढिरहेको जानकारी दिए । उनले अस्पतालमा ज्येष्ठ, नागरिक, बालिका, महिला गरी दैनिक एक सय ५० जनासम्म बिरामी उपचारका लागि आउने गरेको उनको भनाइ छ । भूकम्पले बाग्मारे–कल्लेरी, तिपतिपे–औल र चतुलाइना–कोठीगाउँ खानेपानीलगायत करिब ५० योजनामा क्षति पुग्दा खानेपानी सङ्कट बढेको नगर प्रमुख रावतले बताए । ‘स्थानीयहरु नदीको दुषित पानी खान बाध्य छन्’, उनले भने, ‘अधिकांश स्थानीयका शौचालय भत्किएपछि खुलास्थानमा शौच गर्न बाध्य भएकाले रोग फैलने खतरा बढेको छ ।’

Bhukampa 1 2

नेपालगञ्ज मेडिकल कलेजका वरिष्ठ फिजिसियन डा. श्याम विकले भेरी नगरपालिकाको रावतगाउँ, नलगाडको चिउरी, कालेगाउँलगायत ठाउँमा चार दिनसम्म बसेर करिब चार सय बिरामीको उपचार गरेर फर्किएको बताए । उनका अनुसार भूकम्प गएको एक-दुई दिनदेखि नै बालबालिका र ज्येष्ठ नागरिकमा निमोनिया र दमको लक्षण देखिन थालिसकेको थियो । नियमित औषधि सेवनकर्ताको भूकम्पले घर भत्काउँदा औषधि पुरिएपछि उनीहरुले औषधि खानबाट वञ्चित भए जसले गर्दा उनीहरुमा चिसोले असर पार्दै गएको छ ।

नलगाड नगरपालिकाका प्रमुख डम्बरबहादुर रावतले पीडितका आधारभूत आवश्यकता परिपूर्ति गर्न निरन्तर लागि परेको बताए । ‘एकैपटक सबै कुरा गर्न गाह्रो छ तथापि प्रतिपरिवार एउटा त्रिपाल र कम्बल दिएका छौँ’, उनले भने । एक÷एक थान त्रिपाल र कम्बलकै साहारामा रात कटाउनु पर्दा सिरेठो जाडोले ज्येष्ठ नागकि, बालबालिका र सुत्केरीमा दम, रुघाखोकी, निमोनिया, ज्वरो, झाडापखालालगायत स्वास्थ्य समस्या देखिन थालेको उनको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७