एक बर्षअघिको रिस फेर्न साथीले नै बोलाएर गरे वरुणको हत्या, आठ जना पक्राउ


१ मंसिर २०८०, शुक्रबार
Barun

बर्दिया । बर्दियाको गुलरिया नगरपालिका –५ स्थित सुहेलवामा हत्या अभियोगमा आठ जनालाई पक्राउ गरिएको छ । प्रहरीले घटनाको मुख्य आरोपमा गुलरिया नगरपालिका–६ का २३ वर्षीय सुलभ थापा, २४ वर्षीय धिरज ठाकुर, वडा नम्बर ५ का १९ वर्षीय दिपेश बुढामगर, वडा नम्बर ८ का १९ वर्षीय सन्दिप थारु र दिनानाथ चौधरीलाई पक्राउ गरेको हो । कात्तिक २६ गते राति २३ वर्षका वरुण घिमिरेलाई पुरानो रिसईबीका कारण हत्या गरेको अभियोगमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

घिमिरेको हत्यामा सहयोगी भूमिका निर्वाह गरेको आरोपमा गुलरिया नगरपालिका–६ का १८ वर्षीय रक्षक भनिने रोशन शाह, वडा ४ का निश्चल थापा क्षेत्री र ठाकुरबाबा नगरपालिका– ३ विदुरपुरका २३ वर्षीय तर्क भण्डारीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिए । गत वर्ष देउसीभैलोको झगडाको रिसइवी साँध्न २३ वर्षीय बरुण घिमिरेको निर्मम हत्या गरिएको खुलेको हो । २६ कात्तिक लक्ष्मीपूजाको राति घरमै बसिरहेका बरुणलाई देउसीभैलो हेर्न जाउँ भनेर लगेर हत्या गरिएको थियो ।

हत्यामा अघिल्लो वर्षको देउसीभैलोमा झगडा भएका उनकै साथीहरू संलग्न पाइएको प्रहरीको प्रारम्भीक अनुसन्धानले देखाएको छ । लक्ष्मी पूजाको राति साढे ११ देखि १२ बजेको बीचमा बरुणलाई उनकै साथीहरूले लखेटी–लखेटी खुकुरी हानेर हत्या गरेका थिए । टाउकोमा हेल्मेट र पेटमा खुकुरीले हानेर बरुणलाई गम्भीर घाइते बनाएर उनीहरू भागेका थिए । गुलरिया नगरपालिका–५ सोहेलहवास्थित एक जुस उद्योग नजिकै बरुणमाथि आक्रमण गरिएको थियो ।

घटनास्थलको प्रकृति हेर्दा बरुण भाग्न खोजेको र आक्रमणकारीले घेरेर जथाभावी कुटपिट र धारिलो हतियार चलाएको देखिएको प्रहरीले जनाएको छ । उनी बेहोस भएर ढलेपछि आक्रमणकारी भागेका थिए । स्थानीयले उनको उद्धार गरेर प्रहरीलाई खबर गरेका थिए । आक्रमणबाट गम्भीर घाइते भएका बरुणको उपचारका लागि नेपालगञ्ज लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो । मृत्यु हुनुअघि उनले प्रहरीलाई आफूमाथि आक्रमण गर्नेहरूबारे बयान दिएका थिए ।

कसरी भयो घटना ? कस्तो थियो पुरानो रिसइबी

अनुसन्धानमा संलग्न प्रहरीका अनुसार, बरुणको एक वर्षअघि तिहारकै बेला आफ्नै साथीहरूसँग झगडा भएको थियो । गुलरिया बजारस्थित जिल्ला अदालत छेउका सुलभ थापा र सुरेश थापासँग त्यतिबेला भएको झगडाको बदलामा अहिले उनीको हत्या गर्ने योजनासहित आक्रमण भएको हो ।

गत वर्ष बरुण र उनका साथीहरूले थापालाई घाउचोट लाग्नेगरी कुटपिट गरेका थिए । सो विवाद प्रहरीमा समेत पुगेको थियो । प्रहरीले घाउचोटको उपचार खर्च भराएर कानुनी प्रक्रियाबाटै मेलमिलाप गराएको थियो । त्यतिबेला मेलमिलाप भए पनि थापा दाजुभाइले एक वर्षपछि रिसइबी साध्नेगरी आक्रमण गरेको खुलेको हो ।

घटनामा संलग्नताको आरोप लागेका युवाहरूलाई प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको छ । जिल्ला प्रहरी प्रमुख एसपी सुधीरराज शाहीले सो हत्याको प्रहरीले गम्भीरताका साथ अनुसन्धान गरिरहेको बताए । ‘प्रारम्भिक अनुसन्धानले साथीभाइबीचको पुरानो रिसइबीले घटना भएको देखिन्छ । मुख्य अभियुक्त पहिचान भइसकेको छ । केही दिनमै घटनाको सम्पूर्ण तथ्य प्रष्ट हुनेछ’ उनले भने ।

बरुणको हत्यामा संलग्न भनिएका सुलभ थापा र सुरेश थापा दाजुभाइ हुन । बरुण र उनीहरूको घर ५ सय मिटरको दूरीमा छ । घरमै परिवारसँग बसिरहेका बरुणलाई देउसीभैलो हेर्न भन्दै बोलाएर लगिएको थियो । विभिन्न टोल घुमाएर मध्यरातमा कसैले पत्तो नपाउने गरी हत्या गरिएको थियो । यो घटनालाई नजिकबाट बुझेका छिमेकीले योजनाबद्ध रुपमै हत्या गरेको दाबी गरेका छन् । प्रहरीले भने घटना सुनियोजित हो वा आकस्मिक आवेगमा गरिएको हो पत्ता लगाउने भनेको छ । प्रहरीले ७ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७