हिमपातका कारण जर्मनीमा ७६० उडान रद्द, बस र रेल सेवा स्थगित


१७ मंसिर २०८०, आईतवार
germany munich2023 12 03 01 16 22

काठमाडौं । भारी हिमपातका कारण शनिबार जर्मनीको म्युनिख विमानस्थल हुँदै हुने करिब सात सय ६० उडान रद्द गरिएका छन्। सिएनएनले विमानस्थलका प्रवक्तालाई उद्धृत गर्दै जनाएअनुसार हिमपातका कारण म्युनिखमा बस, ट्राम र केही रेल सेवाहरूसमेत बन्द गरिएको छ ।

जर्मनीको राष्ट्रिय रेल्वे कम्पनी ड्युचे बानका अनुसार म्युनिखको केन्द्रीय रेल स्टेसन आगमनका लागि बन्द गरिएको छ भने लामो दूरीका अन्य यातायातका सेवाहरू पनि स्थगन गरिएको छ । रेल यातायात सोमबारसम्म ‘गम्भीर रूपमा प्रभावित’ हुने पनि कम्पनीले जनाएको छ । यसबाट ठूलो संख्यामा यात्रुहरू म्युनिखको मुख्य स्टेसनमा अलपत्र परेको जर्मनीमा आधारित अखबार सुदेट्च जेतुङलाई उद्धृत गर्दै समाचार सम्प्रेषण गरिएको छ ।

प्रकाशनसँग कुरा गर्दै एक यात्रुले भने, ‘म १ बजेदेखि यही ठाउँमा बसेको छु ।’ अर्का यात्रुले सिएनएनसँग आफूहरू त्यहाँबाट बाहिर निस्कन पाउँछौँ कि पाउँदैनौँ भन्ने जिज्ञासा राखेका छन् । शनिबार प्रहरीले म्युनिखका जनतालाई अत्यावश्यक नभएसम्म सवारीसाधन प्रयोग नगर्न आग्रह गरेको छ ।

यसैबीच, दक्षिणी बाभेरियाका केही भागहरूमा मानिसहरूलाई घरबाट बाहिर ननिस्कन भनिएको पनि सिएनएनले म्युनिख प्रहरी प्रवक्तालाई उद्धृत गर्दै जनाएको छ । बायर्न म्युनिख र युनियन बर्लिनबीच शनिबार हुने भनिएको फुटबल खेल पनि ‘सुरक्षा जोखिम र ट्राफिक अवस्थाका कारण’ स्थगित गरिएको बायर्न म्युनिखले विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ ।

शनिबार म्युनिखमा ४५ सेन्टिमिटर हिउँ परेको सिएनएनले बाभेरियन सार्वजनिक प्रसारक बेइरिस्चर रुन्डफंकलाई उद्धृत गर्दै उल्लेख गरेको छ । म्युनिखमा शनिबार ४५ सेन्टिमिटर हिउँ परेको थियो जुन सन् १९३३ पछिको डिसेम्बरको पहिलो रेकर्ड हो। यसअघि २९ डिसेम्बर १९३८ मा ४४ सेन्टिमिटर हिउँ परेको थियो । बाभेरियामा यसपालि १७ वर्षयताकै भारी हिमपात भएको छ । बाक्लो हिमपातसँगै यहाँको उडान र गुडान दुवै यातायात प्रत्यक्ष रूपमा प्रभावित हुने गर्दछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७