प्रधानमन्त्रीको प्रचण्डको निशानामा मिनबहादुर गुरुङ, अकुत सम्पत्तिमा मुद्दा चलाउन तिव्र दबाब


२३ मंसिर २०८०, शनिबार
Min Bahadur Gurung

काठमाडौं : प्रधानमन्त्री पुष्षकमल दाहाल ‘प्रचण्ड’ले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलाई अकुत सम्पत्ति आर्जनको अभियोगमा ‘जबर्जस्ती’ मुद्दा दायर गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई निर्देशन दिएका छन् । स्रोतका अनुसार प्रधानमन्त्री दाहालले विभागका महानिर्देशक पुष्पराज शाहीलाई बोलाएर तत्काल मुद्दा चलाउन निर्देशन दिएका हुन् ।

विभागका एक उच्च अधिकारीका अनुसार गुरुङमाथि छानबिन, अनुसन्धान सुरू गर्न, बयान लिन र मुद्दा चलाउन महानिर्देशक शाहीलाई प्रधानमन्त्री दाहालले दबाब दिएका हुन् । प्रधानमन्त्री प्रचण्डको दवाव खेप्न नसकेपछि दुई महिना अघि मात्र विभागको जिम्मेवारीमा खटाइएका महानिर्देशक शाही विभाग छोड्न मनस्थीतिमा रहेका स्रोतको दाबी छ ।

विभागको सम्पूर्ण जनशक्ति अहिले व्यवसायी गुरूङको आयस्रोत, कारोवार, खर्च र मुनाफाको प्रमाण खोज्न र विश्लेषणमा परिचालन गरिएको छ । तर, मासिक रुपमा नै अर्वौंको कारोवार गर्ने उनीहरुको कारोवारको तथ्य संकलन र छानबिन गर्नसक्ने जनशक्ति विभागमा नरहेको स्रोतको दावी रहेको छ । स्रोतका अनुसार प्रधानमन्त्रीको निरन्तरको चासोपछि मुख्यसचिव डा. वैकुण्ठ अर्यालले पनि शाहीलाई दबाब दिएका छन् ।

यसअघि ललिता निवास प्रकरणमा अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले भाटभटेनी सुपरमार्केटका सञ्चालक गुरुङलाई गत १२ असार २०८०मा पक्राउ गरेको थियो । जिल्ला अदालत काठमाडौंले २५ भदौ २०८०मा गुरुङसहित १७ जनालाई धरौटी र केशव तुलाधरलाई साधारण तारिखमा रिहा गर्न आदेश दिएको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २२ माघ २०७६ मा विशेष अदालतमा मुद्दा दायर गरीसकेको छ । उनीसँग ५० करोड ४७ लाख बराबरको जरिवना र त्यतिकै विगो असुल उपर गर्न माग गरिएको छ । आयोगले दायर गरेको मुद्दा अदालतमा चलिरहेपनि प्रधानमन्त्री दाहालेको रुचीको कारण नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पछिल्लो मुद्दा चलाएको चर्चा समेत चलेको छ ।

गत त १२ असार २०८० मा गुरुङलाई पक्राउ गरिएपनि ललिता निवासको १८ रोपनी भन्दा बढी जग्गा कीर्ते गरेर लिएका मारवाडी सेवा समितिका अध्यक्ष कैलाशचन्द्र गोयल, उनका भाइ श्रवण गोयल, देवान्सी गोयल र निर्मलादेवी गोयललाई सीआईबीले पक्राउ गर्ने भन्दा पनि भाग्ने मौका दिएको थियो । सीआईबीले गोयल दाजुभाइलाई पक्राउ नगरी भागेर दुबई जाने अवसर दिएको छ । उनीहरु सहज हिसाबले दुबई गएका थिए ।

ललिता निवासको जग्गा खरिद गर्ने अर्का ब्यापारी सिद्धार्थ बैंकका अध्यक्ष मनोजकुमार केडियालाई पक्राउ गरिएको थिएन । शारदा ग्रुपका शिवरतन सारडा र सन्दीपकुमार सारडालाई पनि प्रहरीले पक्राउ गरेको थिएन ।

स्रोतका अनुसार गुरुङलाई मुद्दा चलाउनमा भूराजनीतिक दबाब समेत रहेको स्रोतको दाबी छ । भारतीय सीमा क्षेत्रहरुमा भाटभटेनी सुपरमार्केट विस्तार गरिएपछि भारतीयहरु गुरुङसँग रुष्ट रहेको स्रोतको दाबी छ । भाटभटेनी सुपरमार्केट पूर्वको विर्तामोडदेखि पश्चिमको धनगढीसम्म सिमा क्षेत्रमा विस्तार गरिएको छ ।

भाटभटेनी सुपरमार्केटमा चिनियाँ उत्पादनहरुको बढी हुने गरेको छ । यही प्रतिशोधका कारण पनि गुरुङ निशानामा परेको स्रोतको दाबी छ । बिग मार्ट, सेल्स बेरी डिपार्टमेन्ट स्टोरका सञ्चालकहरुले समेत गुरुङमाथि मुद्दा चलाउन लबिङ्ग गरेको स्रोतको दाबी छ ।

भाटभटेनी सबैभन्दा धेरै कर तिर्ने १६ क्षेत्रका व्यक्ति र संस्था मध्ये एक हो । भाटभटेनी सुपरमार्केटआर्थिक वर्ष ०७८/७९ मा वस्तु व्यापारतर्फ सबैभन्दा बढी कर तिर्ने कम्पनी हो । ७ मंसिरमा राष्ट्रिय कर दिवस, २०८० का अवसरमा सञ्चालित कर सप्ताह समापन समारोहमा अर्थमन्त्री प्रकाशशरण महतले भाटभटेनीलाई सम्मान गरेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७