एमाले ‘संकल्प यात्रा’ टोली आज पुष्पलालको जन्मथलो रामेछाप पुग्दै


२५ मंसिर २०८०, सोमबार
kp 5

रामेछाप । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले गत मंसिर १४ गतेबाट सुरु गरेको ‘समृद्धिका लागि संकल्प यात्रा’ आज (सोमबार) रामेछाप आइपुग्दै छ ।

झुलाघाट–चिवाभञ्ज्याङ मध्यपहाडी पुष्पलाल लोकमार्गको यात्रा आज नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको जन्मथलो रामेछाप आइपुग्ने भएको हो । पुष्पलालको जन्म रामेछापको भँगेरीमा भएको हो । पुष्पलाल र सहिद गङ्गालाल दाजुभाइ हुन् । एमालेको अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व गरेको अभियान मंसिर १४ गते पुष्पलाल लोकमार्गको अन्तिम बिन्दु बैतडीको झुलाघाटस्थित महाकाली नदी किनारबाट सुरु भएको थियो । संकल्प यात्राको टोली आइतबार काभ्रेको धुलिखेल आइपुगेको छ ।

आज (सोमबार) बिहान धुलिखेलबाट सुरु हुने यात्रा सिन्धुपाल्चोक, दोलखा हुँदै साँझ रामेछापको सदरमुकाम मन्थली आइपुग्ने छ । सोमबार दिउँसो दोलखाको चरिकोटमा सभा राखिएको छ । सो सभा सकेर अध्यक्ष ओली लगायतको अभियानको टोली मन्थली आउने एमाले रामेछापका अध्यक्ष आनन्द श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार सोमबार साँझ मन्थलीको तीनलाल पार्कमा सन्देश सभा राखिएको छ । विभिन्न सांस्कृतिक कार्यक्रमसहित साँझ सभा हुने छ भने मंगलबार बिहान अन्तरक्रिया कार्यक्रम राखिएको छ । मन्थलीको अन्तरक्रिया सकेर मंगलबार बिहान टोली सिन्धुलीको खुर्कोट हुँदै घुर्मी प्रस्थान गर्ने छ । मंगलबार घुर्मीमा सभा राखिएको छ ।

मध्यपहाडको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक अवस्था तथा उद्योग, पर्यटन लगायतको सम्भावना बुझ्न एमाले अध्यक्ष ओलीको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, रामबहादुर थापा, विष्णु पौडेल, सुरेन्द्र पाण्डे, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, सचिवहरू, स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटी सदस्यहरू, प्रदेश कमिटी लगायतका नेताहरू, प्राविधिक, विज्ञ सम्मिलित टोली सहित समृद्धिको लागि संकल्प यात्रामा छन् । बैतडीको झुलाघाटबाट मंसिर १४ गतेदेखि सुरु भएको यात्रा पुस १ गते पाँचथरको चिवाभञ्ज्याङ पुग्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७