म्यानमारमा नेपालीलाई बन्धक बनाई अनलाइन ‘स्क्यामिङ’ मा लगाउने दुई नेपाली पक्राउ


२५ मंसिर २०८०, सोमबार
Myanmar scaming

काठमाडौं । मानव बेचबिखन अनुसन्धान ब्युरोले नेपालीलाई म्यानमार पठाएर बन्धक बनाई अनलाइन ‘स्क्यामिङ’ मा लगाउने दुई नेपालीलाई नै पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–३ बाँसबारी बस्ने ३६ वर्षीय बुद्ध लामा छन् । ब्युरोले उनलाई गत शुक्रबार पक्राउ गरेको थियो । उनले नेपाली नागरिकलाई थाइल्यान्डमा कल सेन्टरमा अंग्रेजी ट्रान्सलेटरको काम छ भनेको पाइएको छ । यसरी ट्रान्सलेटरको काम गरी मासिक एक लाख ३० हजार रुपैयाँसम्म कमाइ हुने, खाने–बस्ने, व्यवस्था समेत कम्पनीले नै गरिदिने भन्दै नेपालीलाई थाइल्यान्ड भन्दै झुक्याएर म्यानमार पुर्‍याएको एसपी पंगेनीले बताए । यस्तै म्यानमारमा बन्धक बनाएर अनलाइन स्क्यामिङमा लगाउने एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा गोरखाको धार्चे गाउँपालिका–४ की २७ वर्षीया कविता गुरुङ रहेकी छन् ।

थाईल्याण्डस्थित चिनियाँ कम्पनीमा कम्प्युटर टाईपिङको राम्रो रोजगारीको प्रलोभन देखाई म्यानमारको म्यावडीस्थित चिनियाँ कम्पनीमा अनलाइन स्क्यामिङमा लगाएका थिए । पीडितहरूलाई थाइल्याण्डस्थित कम्पनीमा अंग्रेजी टाइपिङको काममा मासिक एक हजार डलर कमाई हुने तथा खाने, बस्ने व्यवस्था समेत कम्पनीले नै गर्ने भनि प्रलोभन देखाएको पाइएको प्रहरीले जनाएको छ ।

पीडितहरूलाई काठमाडौंस्थित आफ्नो घरमै बोलाई अंग्रेजीको टाइपिङ स्पिड चेक गरेको र उक्त परीक्षामा पास भएकालाई पैसाको जोहो गर्न लगाई प्रतिव्यक्ति २ लाख ६० हजार रुपैयाँ लिएर म्यानमार पठाएको अनुसन्धानले देखाएको छ । सामाजिक सञ्जालबाट अमेरिकी, युरोपियन नागरिकलाई ट्रयापमा पारेर बिट क्वाईनमा लगानी गर्न बाध्य बनाउनका लागि एक साताको तालिम समेत दिएको पाइएको छ ।

कम्पनीले तोकेअनुसारको टार्गेट पुर्‍याउन नसकेमा कुटपिट गर्ने, करेन्ट लगाउने लगायतका शारीरिक तथा मानसिक यातना दिने गरेको पीडितले बताएका छन् । पीडितले ९ महिनापछि नेपाल फर्कनका लागि कम्पनीलाई ८ लाख रुपैयाँ तिर्न बाध्य भएको अनुसन्धानबाट खुलेको छ । पक्राउ परेका उनलाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको मानव बेचबिखन अनुसन्धान ब्युरोले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७