यातायातका निमित्त प्रमुखसहित सात कर्मचारी भ्रष्टाचारी ठहर


२६ मंसिर २०८०, मंगलवार
Bises adalat

काठमाडौं । विशेष अदालतले भ्रष्टाचार मुद्दामा सात जनालाई सजाय सुनाएको छ । दुई जनाले सफाइ पाएका छन् । सोमबार विशेषले यातायात व्यवस्था कार्यालय पोखराका निमित्त प्रमुखसमेत सात कर्मचारीलाई सजाय सुनाएको हो ।

गण्डकी प्रदेशबाट ०७५ मंसिर तथा ०७६ को कात्तिक र मंसिरमा सञ्चालित सवारीचालक अनुमतिपत्रको परीक्षा परिणाम फेरबदल गरेको अभियोगमाथि सुनुवाइ गर्दै विशेषले फैसला सुनाएको हो । विशेषका अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरू रामबहादुर थापा तथा मुरारीबाबु श्रेष्ठको इजलासले कसुर कायम भएका सबैलाई जनही तीन–तीन महिना कैद र पाँच–पाँच हजार रुपैयाँ जरिवाना सजाय तोकेको छ ।

विशेषका अनुसार भरतमणि बराल, भरतराज काफ्ले, प्रेमप्रसाद श्रेष्ठ, डिल्लीराम बराल, होमनाथ शर्मा, मोहनमणि सुवेदी र झलक पौडेलमाथि कसुर कायम भएको हो । पौडेल तत्कालीन निमित्त कार्यालय प्रमुख र शाखा अधिकृत हुन् भने बाँकी कम्प्युटर अधिकृत र अपरेटरहरू हुन् ।

उनीहरू मिलेर विभिन्न वर्गको प्रयोगात्मक परीक्षामा अनुत्तीर्ण भएका र उपस्थितसमेत नभएका एक सय १६ परीक्षार्थीहरूलाई उत्तीर्ण भनी प्रयोगात्मक परीक्षामा सामेल गराएका थिए । उनीहरूले प्रयोगात्मक परीक्षामा पास भएका दुईजनालाई भने अनुत्तीर्ण बनाई परीक्षाको परिणाम फेरबदल गरेको पाइएको थियो ।

घटनाको तीन वर्षपछि अनुसन्धान सुरु भएको थियो । त्यसपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ४ चैत ०७८ मा विशेषमा मुद्दा दायर गरेको थियो । यसमा प्रतिवादी बनाइएका तत्कालीन कार्यालय प्रमुख गोकुल शर्मा र शाखा अधिकृत हरिप्रसाद गौतमले सफाइ पाएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७