होम्ताङ पिखुवा लिफ्ट खानेपानी आयोजनाको काम अन्तिम चरणमा


२९ मंसिर २०८०, शुक्रबार
water bhojpur

भोजपुर । होम्ताङ पिखुवा लिफ्ट खानेपानी आयोजना अन्तिम चरणमा पुगेको छ । भोजपुरको हतुवागढी गाउँपालिकामा अनुमानित कुल रु ३० करोड ९० लाख ८२ हजार लागतमा आयोजनाको काम थालनी गरिएको हो । पानीको समस्यामा रहेका हतुवागढीको वडा नं १, ५ र ६ का करिब एक हजार चार सय ६९ घरपरिवारलाई पिउने पानी पुर्‍याउने लक्ष्यका साथ काम भइरहेको छ ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भोजपुरअन्तर्गत निर्माण भइरहेको यो आयोजनाको मुख्य पाइपलाइन विस्तार, ट्याङ्की, पालेघर, शौचालय निर्माणलगायतको काम अन्तिम चरणमा पुगेको निर्माण उपभोक्ता समितिले जनाएको छ । हालसम्म करिब चार हजार दुई मिटर मुख्य पाइप लाइनमध्ये दुई हजार चार सय ६० मिटर विस्तार सम्पन्न भएको छ ।

त्यस्तै आयोजनाको लागि पालेघर, शौचालय, ३० घन मिटरको ट्याङ्की, ४० घनमिटरको ट्याङ्की, ७५ घनमिटरको ट्याङ्की र मुहानमा पानी तान्न सम्फवेल (इनार) निर्माण सकिएको उपभोक्ता समितिका सचिव राजेन्द्र राईले जानकारी दिए । आयोजनाको लागि शाखा पाइप लाइन, शाखा लाइन ट्याङ्की निर्माण र बराङ डाँडाँबाट जैसी धारासम्म मुख्य लाइन विस्तार गर्न बाँकी रहेको उनको भनाइ छ । प्रदेश सरकारबाट बर्सेनि आउने बजेट कम हुँदा काममा केही ढिलाइ भएको सचिव राईले बताए । ‘आयोजना निर्माणका काम तीव्रगतिमा अघि बढाएका छौँ’, सचिव राईले भने, ‘बस्तीमा चाँडो पानी पुर्याउने लक्ष्यका साथ काम गरिरहेका छौँ । बर्सेनि थोरै–थोरैमात्र बजेट आउने गरेकाले काममा केही ढिलाइ हुने अवस्था बनेको छ ।’

हालसम्म भौतिक संरचनाको करिब ७० प्रतिशत काम सम्पन्न भएको उपभोक्ता समितिका अध्यक्ष विजय राईले बताए । विद्युत् विस्तारपछि पानी वितरणको काम थालनी गरिने उनको भनाइ छ । बर्सेनि थोरै बजेट विनियोजन हुँदा काममा केही ढिलाइ भएको अवस्था रहेको अध्यक्ष राईको भनाइ छ । ‘योजनालाई चाँडो सम्पन्न गराउने उद्देश्यका काम गरिरहेका छौँ’, उनले भने, ‘विद्युत् विस्तारको काम सुरु गर्ने तयारी भइरहेको छ । विद्युत् विस्तार सम्पन्न भएपछि पानी वितरण गर्छौ ।’

योजनाको कामको भौतिक निर्माण अन्तिम चरणमा पुगेकाले अब पानी वितरणको काम अघि बढाउने खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भोजपुरले जनाएको छ । पानी तान्न पम्प जडानका लागि विद्युत् विस्तारको सर्भे भइरहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय प्रमुख देवनाथ सिंहले बताए । विद्युत् जडानपश्चात सबै पाइप लाइन तथा ट्याङ्कीको परीक्षण गरेर पानी वितरणको काम गरिने उनको भनाइ छ । ‘लामो समयदेखि यहाँको भौतिक निर्माणको काम भइरहेको छ’, प्रमुख सिंहले भने, ‘यो काम अन्तिम चरण पुगेको अवस्था छ । अब हामी यहाँ विद्युत् जडान गरेर पानी तान्ने कामलाई अघि बढाउँछौँ ।’

यस वर्ष आएको करिब रु एक करोड ५० लाख बजेटबाट आयोजनाका लागि विद्युत् जडान गरिने प्रमुख सिंहको भनाइ छ । थप कामलाई तीव्रगतिमा अघि बढाएर स्थानीयलाई चाँडो पानी खुवाउनका लागि सबै संरचनाको कार्यालयले स्थलगत अनुगमन गरेको छ । प्राविधिकहरूसहितको समूहले अनुगमन गर्दा मुहानमा निर्माण भएको ट्याङ्कीमा खोलाले धार परिवर्तन गरेकाले कम पानी देखिएकाले त्यसको सुधार गर्नुपर्ने देखिएको प्रमुख सिंहले जानकारी दिए ।

‘उपभोक्ता समितिद्वारा यहाँ निर्माण भएका सबै संरचनाको विस्तृतरूपमा अनुगमन गरेका छौँ’, उनले भने, ‘अनुगमनका क्रममा देखिएका प्राविधिक समस्यालाई समाधानको पहल गर्छौँ ।’ प्रदेशबाट आवश्यक बजेट आएको खण्डमा आगामी वर्षभित्र योजनालाई पूर्णता दिने लक्ष्य रहेको कार्यालयको भनाइ छ । कम बजेट विनियोजन हुँदा कामलाई सम्पन्न गराउन चुनौती रहेको कार्यालयले जनाएको छ ।

यो आयोजना सम्पन्न भएपश्चात गाउँपालिकाका धेरै स्थानीयको पानीको समस्या अन्त्य हुने गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताए । विगतका वर्षहरूमा कम बजेट विनियोजन हुँदा काममा ढिलाइ हुने अवस्था देखिएको उनको भनाइ छ । योजनालाई चाँडो सम्पन्न गराउन स्थानीय सरकारले पनि आवश्यक भूमिका खेलिरहेको अध्यक्ष राईले बताए । ‘यो हाम्रो गाउँपालिकाको निकै ठूलो खानेपानी योजना हो’, अध्यक्ष राईले भने, ‘यसले तीन वटा वडालाई समेटेको छ । यहाँका पानीको समस्या रहेका स्थानीयलाई प्रत्यक्ष राहत पुग्ने छ । निर्माण कामलाई चाँडो सम्पन्न गराउन हामीले पनि आवश्यक भूमिका खेलिरहेका छौँ ।’

प्रदेश सरकारबाट पर्याप्त बजेट नआउँदा काममा केही ढिलाइ भएको अवस्था रहेको उनको भनाइ छ । करिब पाँच वर्षअघिबाट सुरु भएको योजना रहेकाले यसलाई चाँडो सम्पन्न गराउन सरकारले प्राथमिकताका साथ बजेट विनियोजन गर्नुपर्ने अध्यक्ष राईले बताए । योजनाबाट पानीको समस्यामा रहेका स्थानीयलाई प्रत्यक्ष लाभ पुग्ने हतुवागढी–६ का अध्यक्ष मोहनकुमार राईले बताए । ‘हाम्रो वडामा पानीको निकै समस्या छ’, वडाध्यक्ष राईले भने, ‘स्थानीयवासी पानीको पर्खाइमा छन् । पानी बस्तीमा आएपश्चात वर्षौँबाट रहँदै समस्या अन्त्य हुनेछ । आयोजना समयमा सम्पन्न वडाले आवश्यक पहल गर्दै आएका छौँ ।’

स्थानीयको बहुप्रतिक्षित योजना रहेकाले कामलाई चाँडो सम्पन्न गराउन राज्य गम्भीर बन्नुपर्ने हतुवागढी–५ का वडाध्यक्ष सुरेशकुमार राईले बताए । योजना सम्पन्न भएपश्चात यसको दिगो व्यवस्थापनका लागि वडाले पनि पहल गर्ने उनको भनाइ छ । स्थानीयवासीको पानीको समस्या समाधानको लागि पिखुवा खोलाबाट सात लिफ्ट गरेर पानीलाई बस्तीमा ल्याउन आर्थिक वर्ष २०७५/७६ बाट आयोजना निर्माण थालिएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७