चिवाभञ्ज्याङबाट ओलीको सन्देश : देश अलपत्र अवस्थामा चलाउन दिँदैनौं, एमालेले निकास दिन्छ


१ पुष २०८०, आईतवार
3

पाँचथर । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीति अलपत्र रुपमा चल्न दिन नसक्ने बताएका छन् ।

आज (आइतबार) पाँचथरको चिवाभञ्ज्याङमा मध्यपहाडी पुष्पलाल लोकमार्ग केन्द्रित यात्राको समापन समारोहलाई सम्बोधन गर्दै उनले सङ्कल्प यात्राले देशको बिग्रँदो अवस्थालाई सुधारेर जनतालाई आशावादी बनाउने कुरामा जोड दिए । उनले जनतामा निराशा फैलाउने काम अहिलेको गठबन्धन सरकारले गरेको आरोप लगाए । उनले अभियानले देशका जनतामा पुनः जागरणको अवस्था सिर्जना गरेको पनि दाबी गरे । उनले देशको राजनीतिलाई सही बाटो र निकास दिनुपर्ने अवस्था रहेको बताएका छन् ।

उनले भने, ‘यो यात्रामा अत्यन्तै रमाइलो बीचका सांस्कृतिक कार्यक्रमहरु, सांस्कृतिक विभिन्न झाँकी, पहिरनदेखि अनेक कुरा ग्रहण गरेका छौँ । स्थानीय खाना, पहिरन, नृत्य, वाद्यवादन, संगीतसँग परिचित भएर सँगै हिँडेका छौँ । यो यात्रा अत्यन्त सफल भएको छ । राजनीतिक हिसाबले यो यात्रा आजको देशको बिग्रँदो अवस्था जो छ, जनतामा निराशा फैलाउने काम अहिलेको गठबन्धनले गरेको छ, त्यसबाट जनतालाई मुक्त गर्न र आशावादी बनाउन र यो अभियानले देशका जनतामा पुनः जागरणको अवस्था सिर्जना गरेको छ । अरु पार्टीमा पनि यसको प्रत्यक्ष प्रभाव परेको छ । अब देशको राजनीति यसैगरी अलपत्र अवस्थामा चल्नु हुँदैन, देशको राजनीतिले सही बाटो र निकास निकाल्नुपर्छ । यहाँ देश र जनताको समय खेर गइरहेको छ । आउँदो पिँढीको भविष्य अप्ठ्यारोतर्फ धकेलिँदै छ । यस्तो अवस्थाबाट देशलाई जोगाउन यस सङ्कल्प यात्राले असाधारण योगदान गरेको छ ।’

नेकपा (एमाले) ले झुलाघाटबाट शुरु गरेको समृद्धि सङ्कल्प यात्रा पाँचथरको चिवाभञ्ज्याङ पुगेर समापन भएको हो । मंसिर १४ गते बैतडीको झुलाघाटबाट शुरु भएको यात्रा १८ औँ दिनमा मध्यपहाडी लोकमार्गको अन्तिम बिन्दु पाँचथरको चिवाभञ्ज्याङमा टुङ्गिएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७