ह्रस्व दीर्घको कसरी लेख्ने भनेर झुकिन्नुहुन्छ ? नियम यो गीतबाटै सिक्नुहोस्


२० भाद्र २०७५, बुधबार
school dance

काठमाडौं, २० भदौ । नेपाली व्याकरणका नियमहरु विद्यार्थीहरुको लागि सहज छैन् । अझ नेपाली व्याकरणमा ह्रस्व दीर्घका नियमको ठूलो महत्व छ । तर अधिकांश ह्रस्व दीर्घमा झुक्किने गर्छन् ।

यदि तपाईं पनि नेपाली लेखनमा ह्रस्व दीर्घमा झुक्किने गर्नुभएको छ भने एआइए स्कुल शंखमुलका विद्यार्थीहरुले गीत नै तयार पारेका छन् ।

नेपाली भाषाका शिक्षक विमल घिमिरेले तयार पारेको ‘नेपाली व्याकरण’ शीर्षकमा गीतलाई सार्वजनिक भएको छ ।

एआइए स्कुल शंखमुलका प्रवन्ध निर्देशक समेत रहेका घिमिरेको परिकल्पना र शब्द, राजकुमार घिमिरेको लय अनि शारदा पराजुलीको आवाजमा तयार गीतमा ह्रस्व दीर्घका नियमलाई लयबद्ध ढंगले प्रस्तुत गरिएको छ ।

प्राथमिकदेखि उच्च शिक्षा लिइरहेका समेतका लागि उपयोगी गीतलाई तीजको भाकामा तयार गरिएको छ । भिडियोको छायांकन स्कुल परिसरमै गरिएको छ ।

ह्रस्व र दीर्घसम्वन्धी सामान्य नियमहरू

पदादिमा ह्रस्वः

१.       झर्रा र तद्भव नेपाली शब्दमाः जस्तै – कुकुर, पुर्पुरो, कुनो, सुकुल, गुन, घिउ, हिउँ, सिन्की, सिन्को,गुन्द्रुक आदि ।

२.       नाताबोधक शब्दमाः जस्तै – बुबा, मुमा, भिनाजु, दिदी, मितिनी, जुवाइँ, जिबा, जिमा, फुपाजु, बुहारी,आदि ।

३.       उपसर्ग वा प्रत्यय लागेका व्युत्पन्न शब्दमाः जस्तै – विरोध, उपहार, नियम, सुयोग्य, कुकर्म, निर्माण,निस्तेज, दुर्गन्ध, बुढ्याइँ, धुपौरो, सिलौटो, पुजारी, पिराहा, नुनिलो, दुधालु, भित्रिया, ढुकुवा, आदि ।

४.       मूल वा व्युत्पन्न सर्वनाम शब्दमाः जस्तै – तिमी, उनी, उहाँ, तिनी, यिनी, कुन, जुन आदि ।

५.       संख्यावाचक शब्दः जस्तै – दुई, त्रिचालीस, त्रिपन्न, उन्नाइस, उनान्सय, दुना, तियाँ आदि ।

६.       आगन्तुक शब्दमाः जस्तै – इन्जिन, डिपो, डिलर, ग्लुकोज, बुट, इनाम, किताब, उस्ताद, मुचुल्का, इस्पात,मिसन, बिगुल, लिची आदि ।

७.       धातु वा क्रिया शब्दमाः जस्तै – दिनु, लिनु, सुन्नु, हुनु, उभिनु, चिम्लनु, चुहिनु, खुस्किनु, लिन्छ, हुन्छ,बिर्सिन्छ आदि ।

८.       व्युत्पन्न वा अव्युत्पन्न शब्दमाः जस्तै – उहिले, उही, भित्र, तिर, सित, हिजो, मुनि, कुन्नि, नि, लु,चिम्म, फुत्त आदि ।

पदमध्यमा ह्रस्व

१.       झर्रा तद्भव र देशज शब्दमाः जस्तै – कमिलो, आलुचा, पटुवा, खुकुरी, माइत, मानिस,मुन्धुम, मथिङ्गल, खड्कुलो, कनिका, थुचुक्क, टाकुरो, चुकुल, रसिया, हँसिया, खोरिया, गबुवा आदि ।

२.       नाताबोधक शब्दमाः जस्तै – भतिजा, भानिज, ससुरा, भाउजू, माइजू, भाइबुहारी, सम्धिनी,देउरानी, बहिनी आदि ।

३.       उपसर्ग र प्रत्यय लागी बनेका नाम र विशेषण शब्दमाः जस्तै – अनुमान, अतिरिक्त,अधिकार, अभिमान, परिचय, प्रतिशत, विनिमय, सदुपयोग, ररिलो, लिखित, मौखिक, भरिया,बटुवा, कसिङ्गर, जिताउरी आदि ।

४.       अव्यय शब्दमाः जस्तै – अघिल्तिर, मास्तिर, यतिन्जेल, अहिले, उहिले, लेखुन्जेल, जाउन्जेल आदि ।

५.       सम्पूर्ण कृदन्त र मिलित क्रियामाः जस्तै – उभिनु, झस्किनु, टल्किनु, भनिएको, गरिसकेको,लेखिँदा, गरिने, चलिरहनु, लिइन्छ, बसिदिन्छु, गइहाल्यो आदि ।

६.       सबै आगन्तुक शब्दमाः जस्तै – तरिका, नतिजा, हाजिर, हजुर, असुल, कानुन, फाइदा,चाउमिन, पाउडर, कमिज, टेलिफोन, कार्टुन आदि ।

७.       केही संख्यावाचक शब्दमाः जस्तै – उन्नाइस, एकाउन्न, बाउन्न, पहिलो, एउटा, दुइटा, दुगुना,बाइसौँ आदि ।

पदान्तमा ह्रस्व

१.       पुलिङ्गी नाम शब्दमाः जस्तै – दाजु, भाइ, नाति, पति, गुरु आदि ।

२.       कृदन्त नु, आइ, आउ र तदितान्त आइ, याइँ, गाँसिई बन्ने भाववाची नाम शब्दमाः जस्तै – पढ्नु, लेख्नु,सोचाइ, बोलाइ, घेराउ, पक्राउ, लमाइ, मोटाइ, चतुर्‍याइँ, मुर्ख्याइँ आदि ।

३.       स्थान जनाउने नाम शब्दमाः जस्तै – बालाजु, मलेखु, कपिलवस्तु, टेकु आदि

४.       नपुंशकलिङ्गी उकारान्त नाम शब्दमाः जस्तै – आलु, छानु, घिउ, हिउँ, केराउ, उखु, मासु आदि ।

५.       परिमाणबोधक विशेषण शब्दमाः जस्तै – यति, उति, त्यति, कति, जति आदि ।

६.       उकारान्त बिशेषण शब्दमाः जस्तै – दयालु, मयालु, घरेलु, सिकारु, सिपालु आदि ।

७.       मूल अव्यय शब्दमाः जस्तै – मुनि, माथि, भोलि, पर्सि, अघि, पछि, पनि, नि आदि ।

८.       सामान्य क्रियाको अन्तिम उकारः जस्तै – जान्छु, गाउँछु, खान्छु आदि ।

९.       देखि र निम्ति विभक्ति लागेका शब्दः जस्तै – मदेखि, तिम्रानिम्ति आदि ।

१०.   अन्तमा टि, ति, धि, नि, पि, वि,षि हुने तत्सम शब्दमाः जस्तै – सृष्टि, गति, शान्ति, नीति, विधि, मुनि,प्रतिनिधि, सन्धि, ग्लानि, रवि, छवि, लिपि, कवि, कृषि आदि ।

११.   प्रथम पुरुषवाची एकवचन बुझाउने वर्तमानकालीन क्रियामाः जस्तै – गर्छु, लेख्छु, पढ्छु, बोल्छु आदि ।

पदादिमा दीर्घ

१.       दुई अक्षरले बनेको नामको पछाडि रेफ लागेको छ भने अगाडिको ईकार/ऊकार दीर्घ हुन्छः जस्तै – पूर्ण,घुर्की, कीर्ना, मूर्ख आदि ।

२.       विशेषण शब्दमाः जस्तै – पूरा, ठूलो, तीतो, बूढो, मीठो, झीनो, ठीक, तीखो आदि ।

३.       संख्यावाचक शब्दमाः जस्तै – तीन, बीस, तीस आदि ।

४.       केही तत्सम (संस्कृत) शब्दमाः जस्तै – पीडा, दूध, शीर्षक, भूमि, ईश, चीत्कार, भीषण, मीन, शून्य,सुक्ष्म, क्षीण, रीति, नीति, प्रीति, कीर्ति, वीर, जीव, जून, ईश, दीन, हीन, मूल, शूल आदि ।

पदमध्यमा दीर्घ

१.       केही नाम शब्दमाः जस्तै – अछूत, कपूर, कन्दमूल, खजूर, जासूस, पनीर, बन्दूक, मरीच,सन्दूक आदि ।

२.       ईय, ईन, ईत आदि प्रत्यय लागेका शब्दमाः जस्तै – जातीय, सम्पादकीय, केन्द्रीय, आत्मीय,नवीन, कालीन, प्राचीन, कुलीन, अतीत, व्यतीत आदि ।

३.       संख्याबाचक शब्दमाः जस्तै – चौबीस, बत्तीस, छत्तीस, चालीस, बयालीस आदि ।

४.       विध्यर्थ क्रियामाः जस्तै – बसून्, गरून्, जाऊन् आदि ।

पदान्तमा दीर्घ

१.       स्त्रीलिङ्ग नाम शब्दमाः जस्तै – छोरी, साली, स्वास्नी, गाई, भैँसी आदि ।

२.       नपुंशक शब्दको अन्तिम इकारः जस्तै – पानी, थाली, ठेकी, थैली, टोपी, फर्सी आदि ।

३.       सर्वनाम शब्दमाः जस्तै – हामी, तिमी, ऊ, उनी, आफू, कोही, तपाइँ आदि ।

४.       ईकारान्त विशेषण शब्दमाः जस्तै – धनी, नोकरी, ज्ञानी, डाक्टरी, अल्छी, आँटी, गफाडी, नेपाली, काली आदि ।

५.       ऊकारान्त विशेषण शब्दमाः जस्तै – उल्लू, बुद्दू, लद्दू, पत्रू, चालू आदि ।

६.       संख्यावाचक विशेषण शब्दमाः जस्तै – दुई, साठी, सत्तरी, असी आदि ।

७.       विध्यर्थ जनाउने क्रियामाः जस्तै – खाऊ, सुन्नू, दिनू, सम्झनू, बसूँ आदि ।

८.       सर्वनामबाट निर्मित शब्दको पछाडि आउने ‘ही’ जस्तै – यही, उही, त्यही आदि ।

९.       ‘एर’ अर्थ दिने र स्त्रीलिङ्गी क्रियाको अन्तिम ईकारः जस्तै – खाई (खाएर), पढी, आई, लेखी, बुझी आदि ।

१०.    की, री, नी विभक्ति चिन्ह लागेका शब्दः जस्तै – मेरी, तेरी, रामकी, उसकी आदि ।

११.    ‘लाई’ विभक्ति लागेका शब्दः जस्तै – मलाई, रामलाई, उसलाई आदि ।

१२.    ‘अरी’, ‘तरी’ प्रत्ययान्त र व्युत्पन्न अव्यय शब्दः जस्तै – यसरी, कस्तरी, त्यसरी, खलखली, तनतनी आदि ।

१३.    आदर, माया वा सम्बन्धबोधक स्त्रीलिङ्ग जनाउने शब्दः जस्तै – श्री, सुश्री, श्रीमती, जी, ज्यू, सानू, बाबू,उसकी, उसकी, आफ्नी, तिम्री, मेरी आदि ।

१४.    जात, थर, पेशा जनाउने शब्दमाः जस्तै – कामी, दमाई, क्षेत्री, रेग्मी, अधिकारी, पराजुली, भट्टराई, ज्यामी,व्यापारी, खेती आदि ।

१५.    स्थान र नदीको नामको अन्तिम ईकार दीर्घ हुन्छः जस्तै – नारायणी, सिन्धुली, सप्तरी, लालबन्दी, मेची,द्यौलागिरी आदि ।

ली, आली, एली, यौली, अनी, अन्ती, आउटी, आरी, एरी जस्ता प्रत्यय लागेका शब्दको अन्तिम ईकार दीर्घ हुन्छः जस्तै – भारतेली, पुर्ख्यौली, रत्यौली, उब्जनी, कटनी, घोकन्ती, छेराउटी, चिनारी, पोतेरी आदि ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७