उपत्यकाको विकास एकै पटक हुनुपर्छ : बालेन्द्र


२ पुष २०८०, सोमबार
balen 1

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले उपत्यकाको विकास एकै पटक हुनुपर्ने बताएका छन् ।
आज (सोमबार) ललितपुर महानगरपालिकाको १०५ औं स्थापना दिवसको अवसरमा महानगरपालिकामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले उपत्यकाको सुन्दरतालाई बढाउन उपत्यकाका सबै महानगरपालिकाको विकास एकैपटक हुनुपर्ने बताए । उनले उपत्यकाको विकास एकैपटक गर्नका लागि संघीय र स्थानीय कानुन बाझिएका कारण असहज भएको बताए ।

उनले संघीय सरकारका कारण फोहोर व्यवस्थापनमा समस्या भइरहेकाले फोहोर व्यवस्थापनको दीर्घकालीन समस्या समाधानका लागि कानुनको बाधा अड्चन फुकाइदिन प्रधानमन्त्री पुष्पकमल दाहाल समक्ष आग्रह गरे । उनले काठमाडौंको खोला अतिक्रमणमा सरकारले आवश्यक पहल गर्न आग्रह गरे ।

उनले भने ‘काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिका दुई वटा एक आपसमा परस्पर सम्बन्ध भएका महानगरपालिका हुन् । काठमाडौं एक्लै बनेर पनि उपत्यका राम्रो देखिँदैन, ललितपुर एक्लै बनेर पनि उपत्यका राम्रो देखिँदैन । काठमाडौं उपत्यका बाहिरका मानिसहरूलाई काठमाडौं उपत्यका एउटै हो जस्तो लाग्छ । ललितपुर आए पनि काठमाडौं जस्तो लाग्छ, काठमाडौं गएपनि ललितपुर जस्तो लाग्छ । त्यसैले सम्पूर्ण उपत्यकाको विकास एकै पटक हुनुपर्छ ।’

उनले भने, ‘कोही पहिलो, दोस्रो, तेस्रो भन्दा पनि एकैपटक सबै पालिकाहरू अघि बढ्नुपर्छ । त्यो बढ्न, मेयर, उपमेयर बसेर छलफल गर्दा पनि सक्छौँ तर केही कुराहरू संघीय कानुन र स्थानीय कानुनमा बाझिएका छन् । जस्तै फोहोर व्यवस्थापन बन्चरे डाँडामा गर्दै आएका छौँ । त्यसलाई स्थानीय सरकार आफैँले गर्नेकुरालाई बाधा अड्चन परेको छ, कानुनी बाधा अड्चन फुकाइदिनुहुन सम्माननीयज्युलाई आग्रह र अनुरोध गरेँ ।

जसकारण उपत्यकाको फोहोर व्यवस्थापन ५ होइन, ५० होइन सयौँ वर्षका लागि दीर्घकालीन होस् भन्ने चाहना छ । काठमाडौंमा खोला अतिक्रमण छ, ललितपुरमा छैन, काठमाडौंमा फुटपाथ अतिक्रमण छैन, ललितपुरमा छ, एकदिन सबै फुक्छ । कुनै अतिक्रमण स्थानीय तहले रोक्न सक्छौँ तर खोला अतिक्रमण सम्माननीय ज्युले चाहनुभयो भने अर्को कार्यक्रममा जान लाग्ने समयजतिमा समाधान हुन्छ । ५ मिनेटदेखि एक घण्टामा मात्रै सकिन्छ । त्यो मेयरहरूले मात्रै सक्दैन । ललितपुरसँगै काठमाडौं पनि बराबर उज्यालो होस् । हामीले गर्ने काम हाम्रो कर्तव्य हो । त्यसैअनुसार बुझ्नुपर्छ ।’

प्रमुख साहले काठमाडौं महानगरलाई उज्यालो बनाउन खोज्दा प्रदेश सरकारले मुद्दा हालेको भन्दै असन्तुष्टि व्यक्त गरे । उनले तीन तहकै सरकारले आवश्यक छलफल र समन्वय गरी अघि बढ्ने हो भने उपत्यकाको विकास चाँडो हुने बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७