देउवाको गुनासो : अन्तरघातीलाई कारबाही गरौं भन्दा, पाइँदैन भन्छन्


२ पुष २०८०, सोमबार
Deuwa 1

नुवाकोट । सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको संविधानअनुसार कुनै पनि दलको बहुमत नआउने बताएका छन् । उनले अहिलेको संविधानले कुनै पनि दललाई चुनावमा बहुमत ल्याउन नदिने ठोकुवा गरे ।

नुवाकोटको विदुरमा सोमबार प्रथम जिल्ला भेलाको उद्घाटन गर्दै देउवाले संविधान जारी भएको आठ वर्षपछि विमति जाहेर गरे । उनले बहुमत नआउने भएका कारण अन्य दलसँग मिलेर चुनावमा गएको बताए । कांग्रेसको विधान र देशको संविधान दुवैको विषयमा कुरा उठिरहेका कारण आफूले गम्भीरतापूर्वक लिएको उनले बता ए। आफ्नै दलभित्र समेत विविध विचार आइरहेका कारण कांग्रेसले पनि अब सोचेर अगाडि बढ्नुपर्ने बेला आएको उनको भनाइ छ ।

असहमति र असन्तुष्टिलाई छलफल गरेर समाधान गर्नुपर्ने जोड दिँदै उनले राम्रो कामको समर्थन र गलत कामको खबरदारी गर्न नुवाकोटबासीलाई आग्रह गरे । उनले देशमा विविध परिवर्तन गरेको कांग्रेस दलहरुबीच छुट्टै महत्वको भएको बताए । सभापति शेरबहादुर देउवाले चुनावमा अन्तरघात गर्नेलाई कारबाही गर्न सहयोग नपाएको गुनासो गरेका छन् ।

चुनावमा कांग्रेसमा खुट्टा तान्ने प्रवृत्ति रहेको उनले सुनाए । ‘पार्टीमा घात अन्तरघात पनि छ । खुट्टा तानातान पहिलेदेखि भएकै हो’, देउवाले भने, ‘पार्टीलाई सुधार्नु छ । अन्तरघातीलाई कारबाही गरौं भन्दा कारबाही गर्न पाइँदैन भन्छन् ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७