सुस्त ‘फास्ट ट्रयाक’ : साढे ६ वर्षमा ५२ अर्ब ८६ करोड खर्च, भौतिक प्रगति २८.५६ प्रतिशत मात्रै


४ पुष २०८०, बुधबार
Fast track cover

काठमाडौं । नेपाली सेनाले काठमाडौं–तराई-मधेस द्रुतमार्ग (फास्ट ट्रयाक) सडक आयोजना निर्माणमा हालसम्म ५२ अर्ब ८६ करोड रुपैयाँ खर्च गरेको छ । द्रुतमार्ग निर्माण सुरु भएको साढे ६ वर्षको अवधिमा यति रकम खर्च भइसकेको हो ।

Fast Track surung 3

राज्य व्यवस्था तथा सुशासन समितिको बुधबार बसेको बैठकमा नेपाली सेनाका प्राविधिक महासेनानी एवं योजना तथा डिजाइन महाशाखा प्रमुख भरतलाल श्रेष्ठले उक्त विवरण पेस गरेका हुन् । बैठकमा प्रधानसेनापति प्रभुराम शर्मा पनि उपस्थित थिए । नेपाली सेनाले समितिमा पेस गरेको विवरणअनुसार २०८० मंसिर मसान्तसम्म द्रुतमार्गको भौतिक प्रगति २८.५६ प्रतिशत र वित्तीय प्रगति २९.४४ प्रतिशत भएको छ ।

२०७४ वैशाख २१ गतेको मन्त्रिपरिषद्को निर्णयबाट द्रुतमार्ग निर्माणको जिम्मेवारी नेपाली सेनालाई दिइएको थियो । २०७४ जेठ १४ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले द्रुतमार्ग निर्माण कार्यको शुभारम्भ गरेका थिए ।

Fast Track surung 1

परिमार्जित विस्तृत आयोजना प्रतिवेदनअनुसार द्रुतमार्गको लम्बाई ७०.९७७ किलोमिटर रहेको छ । नेपाली सेनाको विवरणअनुसार आर्थिक वर्ष २०७३/०७४ मा एक अर्ब ३४ करोड रुपैयाँ, २०७४/०७५ मा सात अर्ब ६३ करोड रुपैयाँ, २०७५/०७६ मा पाँच अर्ब ७३ करोड रुपैयाँ, २०७६/०७७ मा एक अर्ब ५३ करोड रुपैयाँ, २०७७/०७८ मा ६ अर्ब ८४ करोड रुपैयाँ, २०७८/०७९ मा आठ अर्ब ७४ करोड रुपैयाँ र २०७९/०८० मा १४ अर्ब ९४ करोड रुपैयाँ द्रुतमार्ग निर्माणमा खर्च भइसकेको छ ।

fast track

यस्तै, चालु आर्थिक वर्ष २०८०/०८१ को मंसिरसम्म द्रुतमार्ग निर्माणमा दुई अर्ब ४३ करोड रुपैयाँ खर्च भइसकेको सेनाले जनाएको छ । द्रुतमार्ग निर्माणमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले तीन अर्ब ६७ करोड रुपैयाँ खर्च गरेको छ । चालु आर्थिक वर्ष २०८०/०८१ का लागि सरकारले द्रुतमार्गको लागि २२ अर्ब ५० करोड ३८ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । कोरोना महामारी र आवश्यक विष्फोटक पदार्थ समयमै उपलब्ध नहुँदा द्रुतमार्ग निर्माण कार्य योजनाअनुसार अघि नबढेको नेपाली सेनाले जनाएको छ ।

fast track sena
फाइल फोटो

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७