श्रीलंकाका विदेशमन्त्री साब्री आइपुगे काठमाडौं


४ पुष २०८०, बुधबार
mantri fTM8vF349k ogN4Jsyhdg

काठमाडौं । श्रीलंकाका विदेशमन्त्री मोहम्मद अली साब्री काठमाडौं आइपुगेका छन् । परराष्ट्र मन्त्रालयका अनुसार नेपाल–श्रीलंका संयुक्त आयोगको बिहीबार र शुक्रबार हुने बैठकमा सहभागी हुन विदेशमन्त्री साब्री काठमाडौं आएका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशमन्त्री साब्रीलाई परराष्ट्र मन्त्रालयका अधिकारीहरूले स्वागत गरेका थिए । बैठकमा लगानी तथा व्यापार, पर्यटनलगायत दुई देशका द्विपक्षीय सहकार्यका विषयमा छलफल हुनेछ । परराष्ट्रमन्त्री एनपी साउदको निमन्त्रणामा उनी तीन दिने नेपाल भ्रमणमा आउन लागेको परराष्ट्र मन्त्रालयले ज्ञप्तिमार्फत जानकारी दिएको छ ।

श्रीलंकाको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा संयुक्त आयोगले नेपाल र श्रीलङ्काबीच व्यापार तथा लगानी, पर्यटन, शिक्षा, रक्षा, संस्कृति, कनेक्टिभिटी र जनसम्पर्कलगायत द्विपक्षीय सहयोगका विभिन्न क्षेत्रमा केन्द्रित रहने उल्लेख छ । यसैगरी संयुक्त आयोगको बैठकपश्चात विज्ञान, प्रविधि र नवप्रवर्तनका क्षेत्रमा सहयोग गर्ने समझदारी पत्रमा पनि हस्ताक्षर हुनेछ ।

मन्त्रालयका अनुसार दुई विदेशमन्त्रीले छुट्टाछुट्टै भेटवार्ता पनि गर्नेछन् । श्रीलंकाली विदेशमन्त्री साब्रीले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग शिष्टाचार भेट गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भ्रमणका क्रममा परराष्ट्रमन्त्री अली साब्रीले नेपालमा रहेका श्रीलङ्का प्रवासी समुदायसँग पनि भेटघाट गर्नेछन् । भेटघाटमा परराष्ट्रमन्त्रीसँग नेपालका लागि श्रीलंकाका राजदूत, एयर चिफ मार्शल सुदर्शन कारागोडा पाथिराना (अवकाश) र काठमाडौंस्थित श्रीलङ्काको राजदूतावासका वरिष्ठ अधिकारीहरु सहभागी हुनेछन् । साब्री शनिबार स्वदेश फर्किने कार्यतालिका रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७