विवादपछि मन्त्री किरातीको प्रष्टीकरण : सबैको अभिभावक हुँ, सबै अस्तित्वको सम्मान गर्छु


५ पुष २०८०, बिहीबार
Sudan Kirati

काठमाडौं । संस्कृति तथा पर्यटनमन्त्री सुदन किरातीले आफ्नो पछिल्लो अभिव्यक्तिको चौतर्फी आलोचना भएपछि प्रष्टीकरण दिएका छन् ।

बहसका लागि सबैलाई धन्यवाद भन्दै उनले सामाजिक सञ्जालमार्फत संविधानको पालना गर्दै भातृत्व र सहिष्णुता कायम गर्न र अतिवादलाई परास्त गर्दै राष्ट्रिय एकता कायम गरौं भन्ने आफ्नो जोड रहेको बताएका छन् । उनले अहिले आफू सबैको अभिभावक रहेको र हिन्दु, बुद्धिष्ट, मुस्लिम, क्रिष्टियन लगायत सबै धर्मको समान गर्ने प्रष्ट पारेका छन् ।

उनले भनेका छन्, ‘संविधानलाई पालना गर्दै भ्रातृत्व र सहिष्णुता कायम गरौँ ! अतिवादलाई परास्त गर्दै राष्ट्रिय एकता कायम गरौँ भन्ने मेरो जोड हो, भन्नलाई त मलाई– पशुपतिनाथ सफा गर्दा हिन्दु भने, बौद्ध दर्शनको वकालत गर्दा बुद्धिष्ट भने, मुस्लिमको कार्यक्रममा जाँदा मुस्लिम भने, क्रिष्चियनको कार्यक्रममा जाँदा क्रिष्टियन भने, फेरि पनि भन्छु अहिले म सबैको अभिभावक हुँ त्यसैले सबै अस्तित्वको समान गर्छु र सबैले गरौँ । अन्तमा अर्काको अस्तित्वलाई स्वीकार गर्नु भनेको आफ्नो अस्तित्व सम्मानित हुनु हो ।’

बुधवार काठमाडौंमा आयोजित ‘उपत्यकाव्यापी संयुक्त बृहत् ख्रीष्टमस महोत्सव २०८०’ कार्यक्रममा बोल्दै मन्त्री किरातीले ‘क्रिश्चियन नमान्ने संबिधान विरोधी हुन्, उनीहरूलाई जेल हाल्नुपर्छ’ अभिव्यक्ति दिएका थिए । उक्त अभिव्यक्तिपछि मन्त्री किरातीको चौतर्फी विरोध भइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७