‘जनगणनाको परिसूचकको वैज्ञानिक अध्ययन आवश्यक’


१८ पुष २०८०, बुधबार
population

कीर्तिपुर । जनसंख्याविद्ले बढ्दो जनसांख्यिक असन्तुलन र आप्रवासनका भविष्यमा उत्पन्न हुने समस्या निराकरण गर्न जनगणनाका परिसूचकको वैज्ञानिक र व्यवस्थित अध्ययन गर्नुपर्ने बताएका छन् ।

त्रिभुवन विश्वविद्यालय, जनसंख्या शिक्षा केन्द्रीय विभागद्वारा मङ्गलबार आयोजित सञ्चारकर्मीसंगको छलफलमा उनीहरुले देश जनसङ्ख्याको उतारचढावअनुरुप विकासका योजनाहरु बनाउन सबै क्षेत्रका कर्मचारीसंग जनसंख्यासम्बन्धी ज्ञान हुनुपर्ने र विश्वविद्यालयबाट विषयविज्ञ उत्पादन गर्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा विभागका प्रमुख प्राध्यापक डा. योगेन्द्र गुरुङले विगतमा जनसंख्या नियन्त्रणलाई प्रमुख नीति बनाउँदै आएको नेपालमा जन्मदर कूल जनसंख्याको एक प्रतिशतबाट तल झरेपछि जनसंख्या व्यवस्थापनतर्फ जानुपर्ने भएको उल्लेख गरे । उनले भने, ‘एकातर्फ सात प्रतिशत पुगेको ज्येष्ठ नागरिकको सामाजिक सुरक्षाका लागि रणनीति बनाउनुपर्ने छ भने अर्कोतर्फ २८ प्रतिशत बालबालिकाको भविष्यका लागि सोच्नुपर्ने अवस्था छ । देशको आर्थिक सामाजिक र राजनीतिक नीति निर्माणका लागि जनसंख्याको अध्ययन आवश्यक छ ।’

विभागका सहप्राध्यापक डा. पद्मप्रसाद खतिवडाले विगतमा एक सन्तान नीति लिएको छिमेकी राष्ट्र चीनले सन् २०२१ मा आइपुग्दा ‘एक दम्पती, तीन सन्तान’ लाई प्रोत्साहन गरेकोबाट नेपालले पनि शिक्षा लिनुपर्ने बताए । युवा र दक्ष जनशक्ति बाहिरिने क्रम तीव्र बढ्नु र जनसंख्यामा आएको उतारचढावका कारण जनसंख्या शिक्षाको महत्व थप वृद्धि भएको डा. खतिवडाले बताए ।

यसैलाई दृष्टिगत गरी विभागले यस वर्षदेखि पाँच जना विद्यार्थीलाई छात्रवृत्ति, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिवेदन तयारी र अनुसन्धान कार्यक्रममा सहभागिताको अवसरसमेत विद्यार्थीलाई दिइने जानकारी पनि उनले दिए । विभागले आप्रवासी सम्बन्धी अन्तर्राष्ट्रिय संस्थाको सहकार्यमा जनसंख्या विषयका अध्येताहरु, सरकारी कमर्चारी र कूटनीतिक क्षेत्रमा क्रियाशीलहरुलाई समेत लक्षित गरी दुई हप्ते सघन तालिम समेत सञ्चालन गरिरहेको जानकारी पनि कार्यक्रममा दिइयो ।

त्रिभुवन विश्वविद्यालयको मानविकी तथा सामाजिकशास्त्र सङ्कायअन्तर्गत २०४५ सालमा स्थापना जनसंख्या केन्द्रीय विभागबाट हालसम्म दुई हजार तीन सयभन्दा बढी स्नातकोत्तर, एक सय ८२ एमफिल तथा १९ जनाले विद्यावारिधि हासिल गरेको जानकारी समेत कार्यक्रममा दिइयो । विभागले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, वातावरण मन्त्रालय, राष्ट्रिय तथ्याङ्क कार्यालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र राष्ट्रिय योजना आयोगसँग सहकार्य गरिरहेको जानकारी पनि डा. खतिवडाले दिए ।

कार्यक्रममा विभागका सहप्राध्यापक बालकृष्ण माबोहाङले जनसंख्यासम्बन्धी विज्ञ आवश्यक संख्यामा उत्पादन गर्न सकिए देशमा कस्तो जनशक्ति कति मात्रामा आवश्यक हुन्छ र कुन कुरालाई प्राथमिकता दिनुपर्छ र कुन कामका लागि कति स्रोत आवश्यक पर्छ भन्ने जस्ता प्रश्नमा हचुवाको भर पर्नु नपर्ने बताए । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७