बरहथवामा निषेधाज्ञा उल्लंघन गर्दै स्थानीयले फेरि थाले प्रदर्शन, कर्फ्यू हटाइयो

घटना छानबिनका लागि समिति बनाउने तयारी


२१ पुष २०८०, शनिबार
sarlahi
फाइल फोटो

काठमाडौं । सर्लाहीको बरहथवा नगरपालिका क्षेत्रमा स्थानीय प्रशासनले कर्फ्यू हटाएर निषेधाज्ञा जारी गरेको छ । तर, स्थानीयले भने निषेधाज्ञा उल्लंघन गर्दै आज (शनिबार) बिहानैदेखि बरहथवा बजारमा प्रदर्शन सुरु गरेका छन् ।

हिजो (शुक्रबार) अपराह्न साढे ५ देखि लागेको कर्फ्यू अहिले बिहान ८ बजे हटाएर निषेधाज्ञा जारी गरिएको हो । आज (शनिबार) बिहान बसेको जिल्ला सुरक्षा समितिको बैठकले आइतबार बिहान ८ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेले जानकारी दिए । यो बेलामा भेला हुन, सभा तथा गतिविधि गर्न रोकिएको छ ।

नगरपालिकाको पूर्वमा सीतापुर जाने बाटोको बह्मस्थान, पश्चिममा हजरिया जाने बाटोको नहर, दक्षिणमा हनुमान मन्दिर र उत्तरमा सोती चोर्निया पुलभित्र निषेधाज्ञा लागू हुनेछ । सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेका अनुसार हिजो तनाव भएको ठाउँमा आज पनि बिहानैदेखि प्रहरी खटिएका छन् ।

शुक्रबार दिउँसो नगर अस्पताल स्तरोन्नतिका लागि प्रदेश सरकारलाई हस्तान्तरणको माग गर्दै भएको प्रदर्शन उग्र बनेपछि प्रहरीले गोली चलाएको थियो । गोली लागेर बरहथवा–६ का ३० वर्षीय जयशंकर साहको मृत्यु भएको थियो । प्रदर्शनका क्रममा भएको झडपमा ८ प्रहरीसहित १० जना घाइते भएका थिए । स्थिति नियन्त्रणमा नआएपछि स्थानीय प्रशासनले अपराह्नदेखि कर्फ्यू आदेश जारी गरेको थियो ।

प्रहरीको गोली लागेर मारिएका साहको शव अहिले पनि घटनास्थलमै छ । स्थानीयवासीले शवलाई घेरा हालेर रातभर घटनास्थलमै बसेको प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपेन्द्र पञ्जियार थारुले जानकारी दिए । सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले आफूले गोली चलाउन आदेश नदिएको र के कति कारणले गोली चल्यो भन्नेबारेमा थप अनुसन्धान हुने बताएका छन् ।

त्यसबारेमा अहिले छलफल भएको र घटनाको छानबिनका लागि समिति बनाउने तयारी भइरहेको उनले बताए । ‘आन्दोलन गर्ने पक्ष र जसका विरूद्ध आन्दोलन भएको हो त्यो पक्षलाई पनि बोलाएर छलफल गर्ने तयारी भइरहेको छ । अहिले सुरक्षाकर्मीहरूसँग छलफल गरिरहेका छौं,’ उनले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७