राष्ट्रिय सभाको भागबण्डामा असन्तुष्ट माधव नेपालले बोलाए पार्टीको वैठक


२२ पुष २०८०, आईतवार
samajbadi
फाइल फोटो

काठमाडौं । सत्ता साझेदार नेकपा एकीकृत समाजवादीले सचिवालय बैठक बोलाएको छ । बिहान साढे ११ बजे पार्टी मुख्यालय आलोकनगरमा ७२ औँ सचिवालयको बैठक बोलाइएको एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए ।

शनिबार दिउँसो बसेको ७१ औँ सचिवालय बैठकले राष्ट्रिय सभाको उम्मेदवारको टुङ्गो लगाउने जिम्मा अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव घनश्याम भूसाललाई दिएको थियो । आज (आइतबार) बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक बसेको थियो । गठबन्धनको बैठकले सिट बाँडफाँटको टुङ्गो लगाएको छ । रिक्त १९ स्थानमध्ये नेपाली काँग्रेसले १०, माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले २ र जनता समाजवादी पार्टी (जसपा) ले १ सिट लिने गरी गठबन्धन घटक दल सहमति नजिक पुगेको बताइएको छ । यद्यपि त्यसमा आफूहरू असन्तुष्ट रहेको उपाध्यक्ष राजेन्द्र पाण्डेले बताएका छन् ।

बालुवाटार बैठकमा कुरा नमिलेपछि थप निर्णय लिन एकीकृत समाजवादीले आकस्मिकरूपमा सचिवालयको बैठक बोलाएको हो । ‘हामीले तीन नेतालाई उम्मेदवारको टुङ्गो लगाउने जिम्मा दिएका थियौँ,’ खतिवडाले भने, ‘गठबन्धनमा भएको कुराकानी र उम्मेदवारहरूबारे छलफल गर्न सचिवालय बैठक बोलाएका हौँ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७