बझाङ–१ मा करिब ५० प्रतिशत मत खस्यो, गणना भोलि मात्रै


१५ बैशाख २०८१, शनिबार
Bajhang election 1

बझाङ । प्रदेशसभा–१ को उपनिर्वाचनमा ४९.१२ प्रतिशत अर्थात् ३० हजार ३२८ मत खसेको छ । बिहान ७ बजेदेखि भएको मतदानमा साँझ ५ बजेसम्म ४९.१२ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले जानकारी दिए । उनका अनुसार जिल्लामा ६१ हजार ७४८ मतदाता थिए ।

जिल्लाका ७४ वटा मतदानस्थल र ९३ केन्द्रमा मतदान शान्तिपूर्णरूपमा सम्पन्न भएको उनले बताए । उनका अनुसार प्रदेशसभा सदस्यका लागि विभिन्न राजनीतिक दलका ११ उम्मेदवार प्रतिस्पर्धामा छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट दमनबहादुर भण्डारी, नेपाली कांग्रेसबाट अभिषेकबहादुर सिंह, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बाट जनकबहादुर बुढा, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट किशोरकुमार खड्का, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)बाट दिलबहादुर सिंह प्रतिस्पर्धामा छन् ।

नेपाल मजदुर किसान पार्टीबाट खगेन्द्रबहादुर शाही, जनमत पार्टीबाट सुशीलादेवी विष्ट, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट दीपकबहादुर खड्का, जनता समाजवादी पार्टीबाट रामबहादुर खड्का, नेसनल रिपब्लिकन नेपालबाट कमल घर्तीमगर, राष्ट्रिय मातृभूमि पार्टीबाट गजेन्द्रबहादुर थापा उम्मेदवार छन् । यहाँ भोलि (आइतबार) मात्र मतगणना गर्ने तयारी छ । विकट क्षेत्रमा रहेको सैपाल गाउँपालिकाको मतपेटिका आइतबार हेलिकप्टरबाट ल्याइनेछ । त्यसपछि मात्र मतगणना हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७