इलाममा आजै रातिदेखि मतगणना, बझाङको भोलि मात्रै

इलाममा हालसम्म ५० र बझाङमा ४३ प्रतिशत मत खस्यो


१५ बैशाख २०८१, शनिबार
ilam chunab 2
देउमाई नगरपालिका- २ पुङफुङ मतदान केन्द्र

काठमाडौं । निर्वाचन आयोगले इलाम क्षेत्र नम्बर २ को मतगणना आजै (शनिबार) राति शुरु हुने जनाएको छ । बझाङको मत आइतबार बिहान ११ बजेदेखि गणना थालिने भएको छ । इलामको मत गणना राति १२ बजेअघि नै शुरु हुने सम्भावना रहेको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जानकारी दिएका छन् । उनले सोहीअनुसार तल निर्देशन दिइएको बताए ।

सबै मतदान केन्द्रबाट राति १० बजेसम्ममा मतपेटिका सदरमुकाम आइसक्ने अनुमान गरिएको उनले बताए । इलाममा गत वर्ष निर्वाचनमा ६० प्रतिशत मत खसेकोमा यस पटक ६३ प्रतिशतसम्म पुग्ने अनुमान रहेको थपलियाले जानकारी दिए । त्यस्तै बझाङमा पनि ५३ प्रतिशतभन्दा माथि नै मत खस्ने सम्भावना रहेको उनले बताए ।

इलाम–२ मा ५० प्रतिशत मत खस्यो
इलाम क्षेत्र नम्बर २ मा मतदान कार्य जारी छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार दिउँसो तीन बजेसम्म करिब ५० प्रतिशत मत खसिसकेको छ । मुख्य निर्वाचन अधिकृत केशव प्रसाद घिमिरेले दिएको जानकारी अनुसार शान्तिपूर्ण रुपमै अहिलेसम्म मतदान कार्य अघि बढेको छ ।

‘अहिलेसम्म लगभग ५० प्रतिशत मत खसेको विवरण पाएका छौँ,’ घिमिरेले भने । उपनिर्वाचनमा लगभग ६० प्रतिशत मत खस्ने आकलन गरिएको पनि उनले जानकारी दिए । मतगणना आजै रातिबाट सुरु गर्ने वा भोलिसम्म पर्खनुपर्ने भन्ने यकिन भइनसकेको सहायक निर्वाचन अधिकृत इन्द्र प्रसाद आचार्यले जानकारी दिए । भौगोलिक विकटताका कारण मतपेटिका पुग्न समय लाग्ने बताउँदै त्यसलाई हेरेर मात्रै मतगणनबारे निर्णय लिइने उनले बताए ।

बझाङमा खस्यो ४३ प्रतिशत मत
बझाङ प्रदेश सभा निर्वाचन (१ ) मा भइरहेको उपनिर्वाचन अन्तर्गत उत्साहपूर्वकरुपमा मतदान भइरहेको छ । बिहान ७ बजेदेखि मतदान भइरहेकोमा अपरान्ह ३ बजेसम्म ४३ प्रतिशत मतदान भएको छ ।

मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेका अनुसार अपरान्ह ३ बजेसम्म २६ हजार १८० मतदाताले मतदान गरिसकेका छन् । उनका अनुसार ७४ वटै मतदान स्थलमा शान्तिपूर्णरुपमा मतदान भइरहेको छ । चुनावलाई स्वच्त र मर्यादित बनाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली खटिएको छ । यहाँ ६१ हजार सात सय ४८ मतदाता रहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७