सकियो मतदान : इलाममा ६४ हजार बढीले खसाले भोट, आजै गणनाको तयारी


१५ बैशाख २०८१, शनिबार
ilam chunab 2
देउमाई नगरपालिका- २ पुङफुङ मतदान केन्द्र

इलाम । इलाम क्षेत्र नं २ को उपनिर्वाचन अन्तर्गत प्रतिनिधि सभा सदस्य छान्न भएको मतदानको तोकिएको समय सकिएको छ । साँझ ५ बजेसँगै मतदानको समय सकिएको हो । ५ बजेसम्म मतदान गर्न नपाएकाहरू ‘पोलिङ एरिया’ भित्र रहेर मतदान गर्न सक्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

साँझ ५ बजेसम्म ५७ प्रतिशत मतदान भएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार मतदानको समय सकिएसँगै मतपेटिका संकलनका लागि लाहाछाप लगाउने काम जारी छ । मतपेटिकाहरू सोझै इलाम नगरपालिका–७ स्थित गौतमबुद्ध सम्मेलन केन्द्र लगिने छ ।

बिहान ७ बजेबाट मतदान सुरु भएको थियो । मत खसाल्न आएका मतदाताका अनुसार पहिलाका मतदान जस्तो अहिलेको मतदानमा मतदाताको संख्या धेरै कम भएको प्रतिक्रिया दिएका छन् । एक लाख १५ हजार ८८९ मतदाता रहेको इलाम–२ मा ६४ हजार भन्दा बढी मतदाताले मतदान गरेको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले जानकारी दिएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार इलाम–२ बाट प्रतिनिधि सभा सदस्यका लागि १९ जना उम्मेदवार चुनावी मैदानमा छन् । कार्यालयका अनुसार ७९ मतदानस्थलका १४९ मतदान केन्द्रमा मतदान भएको हो । जहाँ ७४५ जना कर्मचारी खटिएका थिए । इलामको मतगणना आजै रातिबाट सुरु हुने बताइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७