काठमाडौँ संसारको उत्कृष्ट प्राकृतिक गन्तव्यको सूचीमा


२८ पुष २०८०, शनिबार
Kathmandu tarkeshwor 2 scaled

काठमाडौँ । विश्वप्रसिद्ध ट्राभल वेबसाइट ‘ट्रिप एड्भाइजर’ ले नेपालको सङ्घीय राजधानी काठमाडौँलाई संसारको उत्कृष्ट प्राकृतिक गन्तव्य (नेचर डेस्टिनेसन)का रुपमा घोषणा गरेको छ ।

ट्रिप एडभाइजरले सात वटा वर्गमा ‘ट्रिप एडभाइजर ट्राभलर च्वाईस २०२४’ घोषणा गर्दै काठमाडौँलाई पहिलो सूचीको प्राकृतिक गन्तव्य–२०२४ मा राखेको हो । विश्वका उत्कृष्ट १० प्राकृतिक गन्तव्यमध्ये काठमाडौँ एक नम्बरमा परेको छ । ट्रिप एडभाइजरले सन् २०२४ मा उत्कृष्टमध्ये उत्कृष्ट गन्तव्यका सात वटा वर्गमा गन्तव्य घोषणा गरेको हो ।

जसमध्ये १० उत्कृष्ट गन्तव्य, प्राकृतिक गन्तव्य, ट्रेन्डिङ गन्तव्य, सांस्कृति गन्तव्य, खाना गन्तव्य, हनिमुन गन्तव्य र दिगो गन्तव्य छन् । त्यसैगरी ट्रिप एडभाइजरले विश्वका उत्कृष्ट २५ गन्तव्यमध्ये काठमाडौँलाई २४औँ नम्बरमा पारेको छ। ट्रिप एडभाइजर संसारको ठूलो यात्रा सहजीकरण गर्ने ‘ट्राभल गाइडेन्स प्लेटफर्म’ हो । जसले यात्रा बुकिङ, गन्तव्य छनौट र योजना बनाउन सहयोग गर्दै आएको छ ।

योसँगै नेपालको गन्तव्य प्रवर्द्धनका लागि महत्वपूर्ण योगदान पुग्ने नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले बताए । निर्देशक लामिछानेले सरकारको एक वर्षे कार्यकालको सन्दर्भमा हालै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ल े घोषणा गरेका नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको संख्या अर्को वर्ष दोब्बर बनाउने योजनालाई सफल बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे । बोर्डका तथ्याङ्क अनुसार सन् २०२३ मा १० लाख १४ हजार आठ सय ८२ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् ।
न्यूयोर्क टाइम्सको घुम्नुपर्ने सूचिमा नेपालको मुस्ताङ

अमेरिकाको चर्चित अखबार ‘द न्यूयोर्क टाइम्स’ ले सन् २०२४ मा विश्वभरका घुम्नुपर्ने गन्तव्यको सूचिमा नेपालको मुस्ताङ समावेश गरेको छ । विश्वभरका ५२ ठाउँको सूची सार्वजनिक गर्दै न्यूयोर्क टाइम्सले मुस्ताङलाई सूचिकृत गरेको हो । न्यूयोर्क टाइम्सले नेपालको हिमाल पारिको जिल्ला भनेर चिनिने पर्यटकीय क्षेत्र मुस्ताङलाई समावेश गरेको छ ।

उत्तरी क्षेत्रमा अवस्थित प्राचीन हिमाली अधिराज्यका रूपमा रहेको मुस्ताङले शताब्दीदेखि यसको ग्रामीणपन र संस्कृति बचाएर राखेको टाइम्सले उल्लेख गरेको छ । यसअघि गत वैशाखमा सिएनएनले पनि घुम्नैपर्ने विश्वका २३ ठाउँको सूचीमा मुस्ताङलाई समेटेको थियो । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७