कुनै पनि न्यायाधीशले तानेनन् गोला, आलमविरुद्धको अन्तिम सनुवाइ स्थगित


२९ पुष २०८०, आईतवार
alam 1
फाइल फोटो

काठमाडौं । नेपाली कांग्रेसका नेता मोहमद अफताब आलमविरुद्धको मुद्दा स्थगित सूचीमा परेको छ । फाँट नम्बर ५ को गोला कुनै पनि न्यायाधीशले नतानेपछि स्थगितको सूचीमा परेको हो । रौतहट जिल्ला अदालतमा पुस २९ गते आइतबार (आज) अन्तिम सुनुवाइका लागि पेसी तोकिएको थियो । तर, कुनैपनि न्यायाधीशले गोला नतानिएपछि स्थगितमा यो मुद्दा सूचीमा परेको हो ।

सात जना न्यायाधीशको दरवन्दी रहेको रौतहट जिल्ला अदालतमा आइतबार दुई न्यायाधीश मात्रै उपस्थित भएकाछन् । न्यायाधीश अभावमा उक्त मुद्दाको पेसी स्थगितमा परेको हो । २०६४ सालको संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा रौतहटको राजापुरमा बम विस्फोट भएको र पोल खुल्ने डरले बम विष्फोटका घाइतेहरुलाई इँटा भट्टामा हालेर जलाएको आलममाथि आरोप छ ।

२०७६ साल १८ कात्तिकमा रौतहट जिल्ला अदालतमा दर्ता भएको ‘विष्फोटक पदार्थ बम समेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यानसम्बन्धी कसुर’मा कांग्रेस नेता तथा पूर्वमन्त्री आलमसहित आलम निकटका ११ जना प्रतिवादी छन् । २०६४ सालको संविधानसभा निर्वाचनको पूर्व सन्ध्यामा रौतहटको राजापुरमा बम विष्फोट भएको थियो । सो घटनामा प्रहरीले २०७६ सालमा पुनः अनुसन्धान गरेपछि आलमविरुद्ध अदालतमा मुद्दा पुगेको थियो ।

आलमले २०६४ सालको संविधानसभा निर्वाचनको नतिजालाई आफ्नो पक्षमा पार्न बम विष्फोट गराउने योजना बनाएको र त्यसका लागि बम बनाउँदै गर्दा विष्फोट भएको प्रहरी अनुसन्धानबाट खुलेको थियो । बम विष्फोटको घटना सार्वजनिक हुने भयका कारण आलमले सो विष्फोटमा घाइते भएकालाई ज्यूँदै इँटाभट्टामा जलाएर मारेको प्रहरी अनुसन्धानबाट खुलेको थियो ।

सो मुद्दामा २९ कात्तिक २०७६ मा थुनछेक आदेश सुनाउँदै रौतहट जिल्ला अदालतले आलमलाई पुर्पक्षका लागि कारागार चलान गरेको थियो । पुर्पक्षका लागि थुनामा पठाउने जिल्लाको आदेशविरुद्ध आलमले उच्च अदालतमा पुनरावलोकन निवेदन दिएका थिए । उच्च अदालत वीरगञ्जले २४ माघ २०७६ मा जिल्लाको आदेश नै सदर गरेको थियो । आफूलाई थुनामा पठाउने जिल्ला अदालतको आदेश उच्च अदालतले पनि सदर गरेपछि आलम सर्वोच्च पुगेका थिए । सर्वोच्चले उनलाई धरौटीमा रिहा गर्न अस्वीकार गरेको थियो । सर्वोच्च अदालतले गत २३ वैशाखमा धरौटीमा रिहा हुनुपर्ने माग अस्वीकार गरेपछि अन्तिम सुनुवाइको बटो खुलेको थियो ।

आलमविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र विष्फोटक पदार्थसम्बन्धी कसुरमा ४५ वर्ष कैद सजाय माग दाबी गर्दै अभियोगपत्र दायर भएको थियो । २२ वर्षीय पिन्टु भनिने त्रिलोकीप्रताप सिंह र २३ वर्षीय बसिअख्तर मिया कवाडी, नाम नखुलेका एक जना भारतीय नागरिकको घटनास्थलमै मृत्यु भएको र २० भन्दा बढीलाई इँटाभट्टाको दाउरा हाल्ने म्यानमा खसालेर जलाएको अभियोग छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७