उत्तर कोरियाले ‘ब्यालेस्टिक क्षेप्यास्त्र’ परीक्षण गरेको दक्षिण कोरियालीको दावी


२९ पुष २०८०, आईतवार
north korea ballestic2024 01 14 01 46 27

काठमाडौं । उत्तर कोरियाले आइतबार अर्को एउटा ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको दक्षिण कोरियालीसेनाले जनाएको छ । प्योङयाङले दक्षिण कोरियासँगको तनावपूर्ण सामुद्रिक सीमा नजिक ‘प्रत्यक्ष हतियार प्रहार’ को अभ्यास गरेको केही दिनपछि नै अर्को ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको दक्षिणले दावी गरेको हो ।

‘उत्तर कोरियाले पूर्वी सागरतर्फ अज्ञात ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ,’ सियोलका ज्वाइन्ट चिफ अफ स्टाफले एक विज्ञप्तिमा भनेका छन् । ज्वाइन्ट चिफ अफ स्टाफले प्रक्षेपण भएको पत्ता लागेको बताए पनि यसबारे थप विवरण भने दिएका छैनन् ।

जापानको तटरक्षक बलले उत्तर कोरियाको रक्षा मन्त्रालय र चेतावनीवाहक जहाजहरूको जानकारीलाई उद्धृत गर्दै ‘सम्भावित ब्यालेस्टिक क्षेप्यास्त्र’ उत्तर कोरियाबाट प्रक्षेपण गरिएको बताएको छ । उत्तर कोरियाले पछिल्लो पटक ह्वासोङ–१८ ठोस इन्धनले चल्ने अन्तरमहादेशीय ब्यालिस्टिक क्षेप्यास्त्रको परीक्षण गरेको थियो ।केही दिनअघि उत्तर कोरियाले दक्षिण कोरियासँगको सामुद्रिक सीमा नजिक दुर्लभ ‘प्रत्यक्ष आक्रमणको अभ्यास’ गरेको थियो, जसका कारण केही दक्षिण कोरियाली सीमावर्ती टापुमा सावधानीका लागि निर्देशन जारी गरिएको थियो ।

उत्तर कोरियाली नेता किम जोङ उनले यसै साताको सुरुमा सियोललाई आफ्नो ‘प्रमुख शत्रु’ को संज्ञा दिँदै दक्षिण कोरियालाई ध्वस्त पार्न नहिचकिचाउने चेतावनी दिएका थिए । ‘ऐतिहासिक समय अन्ततः आएको छ, अब हामीले दक्षिण कोरियालाई ‘प्रमुख शत्रुराष्ट्र’को रूपमा परिभाषित गर्नुपर्छ,’ किमले बुधबार कोरियाली केन्द्रया समाचार निकाय (केसीएनए) लाई उद्धृत गर्दै भनेका थिए ।

विश्लेषकहरूले त्यतिबेला यो परिवर्तन महत्वपूर्ण रहेको बताएका थिए । उनीहरूले प्योङयाङको सियोलप्रतिको दृष्टिकोणमा आएको परिवर्तनलाई ‘अति–उग्र मोड’ मा परिवर्तनको संकेत गरेको धारणा राखेका थिए । किमले आणविक शक्तिको रूपमा देशको स्थायी हैसियतलाई संविधानमा समावेश गरेपछि र धेरै उन्नत अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्रहरूको परीक्षण गरेपछि दुई कोरियाबीचको सम्बन्ध दशकौँ यताकै सबैभन्दा खराब अवस्थामा पुगेको छ । (रासस/एएफपी)

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७