ईपीएस भाषा परीक्षा एक महिना पछि सर्दै


१ माघ २०८०, सोमबार
eps
फाइल फोटो

काठमाडौँ । दक्षिण कोरियामा औद्योगिक क्षेत्रको रोजगारीका लागि लिइने ईपीएस भाषा परीक्षा एक महिना पछि सर्ने भएको छ । यसअघि एचआरडी कोरिया र ईपीएस कोरिया शाखाबीच माघ ६ गते (जनवरी २०) देखि परीक्षा सञ्चालन गर्ने सहमति भए पनि सो मितिमा परीक्षा सञ्चालन नहुने निश्चित भएको हो ।

आवश्यक तयारी नपुग्दा परीक्षा करिव एक महिना पछि धकेलिने अवस्था आएको वैदेशिक रोजगार विभागका महानिर्देशक डण्डुराज घिमिरेले जनाएका छन् । एचआरडी कोरियाले ईपीएस शाखालाई माघ २१ गते (फेब्रुअरी ४) मा सूचना जारी गरेर तेस्रो हप्तामा परीक्षा सञ्चालन गर्ने गरी तयारी गर्न भनेको छ ।

भाषा परीक्षाका लागि आवेदन दिनेको संख्या धेरै भएपछि यसअघि तयारी गरेको मितिमा परीक्षा सञ्चालन गर्न नसकिएको एचआरडी कोरियाले ईपीएस शाखालाई जानकारी गराएको छ । यसअघि कम्प्युटरबाट परीक्षा दिँदा एक लाखभन्दा कम भएको र सोही अनुसारको प्रणाली तयार रहेको तर अहिले एक लाख बढी आवेदक भएपछि प्रणालीमा केही परिवर्तन गर्नु पर्ने भएकाले परीक्षा सञ्चालनमा केही ढिलाइ भएको महानिर्देशक घिमिरे बताउँछन् ।

महानिर्देशक घिमिरेले भने, ‘फेब्रुअरी ४ सम्ममा सूचना निकाल्न सकिन्छ होला भन्ने कुरा भएको छ । तर फेब्रुअरीमा परीक्षा हुन्छ ।’ उत्पादनमुलक क्षेत्रको रोजगारीका लागि हुने भाषा परीक्षामा करिव १ लाख ६४ हजारले आवेदन दिएका छन् । उनीहरूलाई तीन चरणमा भाषा परीक्षामा सहभागी गराइने छ । पहिलो चरणमा ४७ हजारले परीक्षा दिन पाउने छन् । दोस्रो चरणमा ८० हजार र बाँकीले तेस्रो चरणमा भाषा परीक्षामा सहभागी हुन पाउने छन् ।

सुरुमा आवेदन खुलाउँदा पानी जहाज निर्माण क्षेत्रको परीक्षामा सहभागी भएकाहरुलाई उत्पादनमुलक क्षेत्रमा सहभागी नगराउने भनिएको थियो । तर उच्च अदालत पाटनले उनीहरुलाई पनि आवेदन दिने व्यवस्था गर्नु भनेपछि सामेल गराइएको हो । पानी जहाज निर्माण क्षेत्रमा आवेदन दिएका करिव २१ हजारले पछि आवेदन दिएका थिए ।

एक लाख ६४ हजार जनाको परीक्षा लिनका लागि समय धेरै लाग्ने भएपछि ईपीएस शाखाले थप उपकरण माग गर्दै कोरियालाई पत्र पठाइसकेको छ । भाषा परीक्षा शनिबार र आइतबार पनि सञ्चालन गर्ने तयारी छ । दक्षिण कोरियाले ईपीएस प्रणालीमार्फत १६ देशबाट श्रमिक लैजान्छ । तीमध्ये अहिले सबैभन्दा बढी नेपालीले प्राथमिकता पाएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७