एमालेको ‘संकल्प यात्रा’ ले व्यवस्था विरोधीको मुखमा बुझो लगाई दियो : भानुभक्त ढकाल


८ माघ २०८०, सोमबार
bhanubhakta dhakal

काठमाडौं । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य एवं जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकालले नेकपा एमालेको संकल्प यात्राले व्यवस्थाविरोधीको मुखमा बुझो लगाई दिएको बताएका छन् ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को कर्णाली प्रदेश अधिवेशन उद्घाटन कार्यक्रमलाई आइतबार दैलेखमा सम्बोधन गर्दै ढकालले नेपालमा उत्पन्न भएका धेरै विकारयुक्त मनोभावनालाई सो यात्राले चिरेको बताए । ‘नेपालमा धेरै उब्जनी भएका विकारयुक्त मनोभावनालाई हाम्रो यात्राले चिरेको छ’, ढकालले भने ।

राजतन्त्र फर्काउँछौँ भनेर लागेकालाई एमालेको यात्राले गणतन्त्र बलियो रहेछ भन्ने पाठ पढाएको ढकालले बताए । सडकमा तथानाम बोल्दै हिँड्ने, पुराना दलको काम छैन भन्ने मानिसहरू पनि एमालेको संकल्प यात्रा पछि दुलो पसेका ढकालले बताए ।
यात्राको क्रममा दिउँसो दुई बजे बोलाएको सभामा सम्बोधन गर्न पार्टी अध्यक्ष राति १० बजे पुग्दा पनि नागरिकहरू अविचलित भएर बसेको उनले सुनाए । ‘एमालेप्रतिको जनविश्वास त्यसले प्रकट गर्‍यो, जनस्तरमा एमाले कमजोर भयो, एमाले सकियो कि भन्ने कुरालाई पनि त्यसले खण्डित गरिदिएको छ’, उनले भने ।

एमालेको एक मात्र लक्ष समाजवादको आधार निर्माण गर्ने भएको ढकालले बताए । केपी ओलीको नेतृत्व र जनताको बहुदलीय जनवादको प्रकाशमा नेकपा एमाले अघि बढेको प्रष्ट पारे । ‘नेकपा एमाले एकताबद्ध छ, एकताबद्ध रहनु पर्दछ’, उनले भने । ढकालले पार्टीले सञ्चालन गरेको झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा पछि आफूहरूले देश बुझ्न ढिला गरेको अनुभूत भएको बताए । तर अहिलेको पुस्ताले सुरुदेखि नै देश बुझ्ने मौका पाएको उल्लेख गरे । यसले एमालेलाई अझ बलियो बनाउन मद्दत गरेको ढकालको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७