लुम्बिनीमा राष्ट्रिय सभा निर्वाचनको मतदान सुरु : मुख्यमन्त्री चौधरीले खसाले पहिलो मत


११ माघ २०८०, बिहीबार
dilliram chaudhari
दाङको घोराही उपमहानगरपालिका-१५ स्थित कर्मचारी मिलनकेन्द्रमा बिहीबार राष्ट्रिय सभा सदस्यको निर्वाचनमा मतदान गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी । तस्वीर : कुलदीप न्यौपाने / रासस

पोखरा । लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्य निर्वाचन–२०८० को मतदान सुरु भएको छ । पहिलो मतदान प्रदेशसभा सदस्यतर्फ मुख्यमन्त्री डिल्लीबहादुर चौधरी र स्थानीय तहतर्फ घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले मतदान गरेका छन् ।

निर्वाचन आयोगका अनुसार बिहान ९ बजेदेखि सुरु भएको मतदान दिउँसो ३ बजेसम्म चल्ने छ । २ हजार ४७ मतदाता रहेको राष्ट्रियसभा निर्वाचनमा सातै प्रदेशको तोकिएका मतदानस्थल तथा मतदान केन्द्रमा मतदान भइरहेको छ । १९ पदका लागि ५२ जना उम्मेदवार प्रतिष्पर्धामा छन् ।

प्रदेशसभाका सदस्य तथा गाउँ-नगरका प्रमुख-उपप्रमुखले मतदान गर्ने छन् । सत्तारुढ दलले गठबन्धन बनाएर उम्मेदवार खडा गरेका छन् । विपक्षी एमालेले कोशी प्रदेशमा राप्रपासँग तालमेल गरे पनि अन्यत्र एकल मैदानमा छ । निर्वाचनमा प्रदेशसभाका सदस्यका लागि सेतो रङको कागजमा हरियो रङको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्र र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखका लागि सेतो रङको कागजमा रातो रङको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्रको व्यवस्था गरिएको छ ।

नेपालको संविधानमा राष्ट्रियसभाका एक तिहाई सदस्यको पदावधि २०८० फागुन २० गते समाप्त हुन लागेको र राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ बमोजिम पद रिक्त हुनुभन्दा ३५ दिन पहिले निर्वाचन गरिसक्नुपर्ने कानुनी व्यवस्था छ । आगामी फागुन २० गते निर्वाचित १९ र सरकारबाट मनोनित एक गरी २० सदस्यको पद रिक्त हुँदैछ ।

राष्ट्रियसभा सदस्यको पदका लागि मतदाता रहेका प्रदेश सभा सदस्यको ५३ र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखको १९ मतभारका दरले गणना हुनेछ । निर्वाचनमा हाल कायम प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख-उपप्रमुख गरी दुई हजार ४७ मतदाता गरी कूल मतभार ५७ हजार ५५९ हुनेछ । निर्वाचन आयोगले मतदान सकिएलगत्तै आजै मत गणना सुरू गर्ने जनाएको । निर्वाचनको नतिजा ३-४ घण्टाभित्र सार्वजनिक गर्ने आयोगको तयारी छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७