सुन्तला ढुवानी गर्न कठिनाइ


१३ माघ २०८०, शनिबार
orange baglung
फाइल फोटो

पर्वत । गाउँसम्म पुग्ने सडकको अवस्था गतिलो नहुँदा पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कका किसानलाई सुन्तला ढुवानी गर्न कठिनाइ भएको छ । यहाँ एउटै गाउँमा लाखौँ रुपैँयाको सुन्तला उत्पादन भए पनि बजारमा पुर्‍याउन सकिएको छैन ।

बाँसखर्क जोड्ने वारीबेनी–बगर–बाँसखर्क सडक स्तरोन्नति हुन नसक्दा गाउँसम्म सवारीसाधन पुग्न समस्या भएको छ । ठूला सवारी साधन सुन्तला बगानसम्म पुग्न नसक्दा व्यवसायीलाई सुन्तला ढुवानी गर्न समस्या भएको स्थानीय जगतबहादुर खत्रीले जानकारी दिए ।

उनले भने, ‘जीपमा थोरै सुन्तला टिपेर बेनी–मालढुङ्गा सडकसम्म झार्ने र ठूलो ट्रकमा राखेर लैजानुपर्ने बाध्यता छ । यसले ढुवानी लागत र समय बढी लाग्ने गरेको छ ।’ अहिले बाँसखर्कसम्म पुग्न वारीबेनी र मिलनचोकबाट कच्ची सडकको सुविधा छ । तर जीर्ण सडकका कारण ठुला ट्रक र टिपर गाउँसम्म पुग्न सक्दैनन् । जीप मुस्किलले गाउँसम्म पुग्ने कृषक खत्रीले गुनासो गरे ।

ठूला ट्रक तथा कन्टेनरबाट एकैपटक ढुवानी गर्न पाए सहज हुने सुन्तला खरिद गर्न बगानमा आउनुभएका कालीमाटीका एक व्यवसायीले भने । दश किलोमिटरको दूरी पार गर्न झण्डै डेढ घण्टा लाग्ने गरेको उनले बताए । जलजला गाउँपालिका–२ वारीबेनीदेखि वडा नं १ बाँसखर्क जोड्ने सडक कालोपत्र गर्नका लागि विस्तृत आयोजना प्रतिवेदन (डिपीआर) स्वीकृत भइसकेको छ । तर बजेट विनियोजन नहुँदा स्तरोन्नति हुन सकेको छैन । दश किलोमिटर लामो उक्त सडकमा रु २२ करोड खर्च हुने अनुमान गरिएको छ ।

बर्सेनि सुन्तला ढुवानी गर्न समस्या हुने गरेको स्थानीयको गुनासो छ । सडक निर्माण भएमा यहाँ उत्पादन हुने सुन्तला बजार पठाउन तथा बाँसखर्कमा सञ्चालित होमस्टे प्रवर्द्धन गर्न सकिने छ । पूर्वाधार विकास कार्यालय पर्वतका प्रमुख गुरुदत्त अधिकारीले चालु आवमा बाँसखर्क जोड्ने कुनै पनि सडकका लागि बजेट विनियोजन नभएको बताए । मिलनचोक–माझफाँट–बाँसखर्क सडकका लागि रु एक करोड विनियोजन भए पनि त्यसले जम्मा एक किलोमिटर मात्र कालोपत्र गर्न सकिने उनँले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७