बास्केटबल कोर्टमा कराते !


१४ माघ २०८०, आईतवार
karate tanahu

तनहुँ । सामान्यता कराते खेल कभर्ड हलमा आयोजना हुन्छ । घामपानीमा पनि प्रतियोगिता आयोजना गर्न कभर्ड हलमा सहज हुन्छ तर तनहुँमा अवस्थामा त्यस्तो छैन । यहाँ बास्केटबल कोर्टमा कराते खेलाउनुपर्ने बाध्यता छ ।

कभर्ड हलको अभावमा नेपाल कराते महासङ्घ गण्डकी प्रदेशले सदरमुकाम दमौलीमा रहेको बास्केटबल कोर्टमा करातेका छनौट प्रतियोगिता गरेको छ । हैरान्स क्लबले निर्माण गरेको बास्केटबल कोर्टमा गण्डकी प्रदेशका नौ वटा जिल्लाका खेलाडीले प्रतिस्पर्धा गरेका छन् ।

पूर्वाधार अभावका कारण बास्केटबल कोर्टमा करातेको प्रतियोगिता आयोजना गर्नुपरेको नेपाल कराँते महासङ्घ गण्डकी प्रदेश अध्यक्ष मनिराज थापाले जानकारी दिए । कभर्ड हल नहुँदा बास्केटबल कोर्टमा भए पनि खेल खेलाएर खेलाडी छनोट गरिएको उनले बताए । उनले भने, ‘जिल्लामा एउटा पनि कभर्ड हल छैन । कभर्ड हल नहुँदा कहिले खुल्ला चौरमा त कहिले बास्केटबल कोर्टमा खेल खेलाउनुपर्ने बाध्यता छ । खेल क्षेत्रको विकासका लागि सरोकारवाला निकायले चासो नदिँदा समस्या भइरहेको छ ।’

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष अनिल पाण्डेले सङ्घीयतापछि तीन तहको सरकार बनेको र सबैभन्दा नजिकको सरकार स्थानीय सरकारले पनि खेल क्षेत्रको भावना बुझ्न नसकेको गुनासो गरे । उनले भने, ‘पूर्वाधार नहुँदा खेलकुदका गतिविधि सञ्चालनमा समस्या भइरहेको छ । तनहुँमा खेलकुदका गतिविधि धेरै हुने गरेपनि पूर्वाधारकै कमी छ ।’

कराते खेलाडी तनहुँका मनिषा पुनले पूर्वाधार निर्माण भइदिए खेल्न सहज हुने बताइन् । उनले भनिन्, ‘हामी देशका लागि खेल्छौ, देशले हाम्रा लागि पूर्वाधार बनाइ दिनुपर्छ ।’ यसैबीच, यही माघ १८ गतेदेखि २० गतेसम्म हुने तेस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराँते प्रतियोगिताका लागि गण्डकी प्रदेशका खेलाडी चयन गरिएको छ ।

नेपाल कराते महासङ्घ गण्डकी प्रदेशले शनिबार तनहुँको दमौलीमा प्रतियोगिताको आयोजना गर्दै गण्डकी प्रदेशको तर्फबाट खेलाडी छनोट गरेको हो । प्रतियोगितामा गण्डकी प्रदेशका मनाङ र मुस्ताङ बाहेकका नौ जिल्लाबाट खेलाडी सहभागिता रहेको गण्डकी प्रदेश अध्यक्ष मनिराज थापाले जानकारी दिए । विभिन्न जिल्लाका खेलाडीबीच प्रतिस्पर्धा गराई राष्ट्रिय प्रतियोगिताका लागि गण्डकी प्रदेशको टोली घोषणा गरिएको उनले बताए । उनका अनुसार महिला र पुरुष गरी कूल २० खेलाडी छनौट गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७