थन्किएका ‘मोबाइल ल्याब भ्यान’ तत्काल सञ्चालन गर्न मन्त्री भुसालको निर्देशन


१८ माघ २०८०, बिहीबार
bedu

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. बेदुराम भुसालले ‘मोबाइल ल्याब भ्यान’ तत्काल सञ्चालन गर्न निर्देशन दिएका छन् । विहीबार खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अर्धबार्षिक प्रगति समीक्षालाई सम्बोधन गर्दै मन्त्री भुसालले लामो समयदेखि डम्पिङ साइटमा थन्किएका मोबाइल ल्याब भ्यानलाई तत्काल सञ्चालन गर्न निर्देशन दिएका हुन् ।

बजारमा मानव स्वास्थ्यमा असर पार्ने गुणस्तरहीन खाद्यवस्तुको बिगबिगी बढेपछि सरकारले त्यस्ता वस्तुको गुणस्तर परीक्षणका लागि प्रयोगशालासहितका ती मोबाइल भ्यान किनेको थियो । झण्डै २४ करोड रुपैयाँ खर्चेर किनिएका ती भ्यान प्रयोगविहीन अवस्थामा छन् । खाद्य प्रविधि विभागमा ती भ्यान अलपत्र परेका छन् ।

मोबाइल भ्यान सञ्चालन गर्नुपर्ने कारणसहित कडा ढंगले विभाग सामु प्रस्तुत भएका मन्त्री भुसालले भने, ‘तेस्रो पटक भन्दै छु, मोबाइल भ्यान तत्काल सञ्चालन गर्नुस् । यो भ्यान कुनै पनि तरिकाले सञ्चालन गर्नुपर्ने छ । चलाउन नसके हात उठाऔं, अर्को व्यवस्था हुन्छ्, नत्र जसरी हुन्छ चलाउऔं । राम्रो काम गर्दा चुनौती आए सामना गर्न तयार हुनुपर्छ, डराउन पर्दैन् ।’

मन्त्री भुसालले चलाउन नसक्ने भए किन चलाउन नसकिने आधार प्रस्तुत गर्न निर्देशन पनि दिएका छन् । मन्त्रालयको जिम्मेवारी सम्हाले लगत्तै गत बर्ष पनि मन्त्री भुसालले विभागको समिक्षा गोष्ठीमा मोबाइल भ्यान तत्काल सञ्चालन गर्न निर्देशन दिएका थिए । उक्त निर्देशन निर्देशनमै सीमित भयो । पटक पटक भ्यान सञ्चालनका लागि मौखिम निर्देशन दिए पनि भ्यान सञ्चालनको सुरु नदेखिएपछि विहीबार पुनः मन्त्री भुसालले निर्देशन दिएका हुन् ।

शुक्रबार मोबाइल भ्यान सञ्चालनका लागि मन्त्रालयमा मन्त्रीसहित मन्त्रालयका सचिव, सहसचिव, विभागका महानिर्देशकसहितको छलफल आह्वान भएको छ । उक्त छलफल मोबाइल भ्यान सञ्चालन केन्द्रीत रहने जनाइएको छ । यस्तै मन्त्री भुसालले विभागले सम्पादन गरेको कामप्रति त्यति धेरै सन्तृष्ट नभएको बताए । समीक्षामा प्रस्तुत विषयभन्दा अझ बढी काम गर्न सकिने उल्लेख गर्दै जनतालाई केन्द्रमा राखेर कार्यसम्पादन गर्न निर्देशन दिए । जनतासँग खाद्यको विषय जोडिएको भन्दै विभागले काममा सक्रियता देखाउनुपर्नेमा मन्त्री भुसालको जोड छ ।

उनले प्रगति विवरण अर्धबार्षिक रुपमा नभएर मासिक रुपमा सार्वजनिक गर्न निर्देशन दिए । अब अर्धबार्षिक रुपमा कामको विवरण पेश गरेर हुँदैन । ‘विभागभित्र प्रगति पेश गरेर जनताले सुन्दैनन्, मन्त्री भुसालले निर्देशन दिदैँ भने, ‘अब मासिक रुपमा कामको विवरण सार्वजनिक गर्नुस्, आफूले गरेको काम जनताको बीचमा लैजानुस् । यसले समग्र विभाग, मन्त्रालय र सरकारको प्रगति देखिन्छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७