राजनीतिमा भूतपूर्व सैनिक 


१९ जेष्ठ २०७५, शनिबार
Biswasdip Tigela

 

  • विश्वासदीप तिगेला

विश्व इतिहास हेर्दा कुनै पनि राज्यको स्थापना र विलय हुने सम्बन्धमा सैनिकहरूको मुख्य भूमिका देखिन्छ । देशको सिमाना बढ्ने–घट्ने सवालसँग पनि देशको सेवक सैनिकहरूको नाम जोड्नैपर्ने हुन्छ । यसरी सैनिक जीवनबाट राष्ट्रसेवा सुरु गरिसकेपछि सिंगो देश र जनताको पक्षधर नेता बनेर शासक बनेका धेरै इतिहास छन् । मानव अस्तित्वको होडमा स्थापित हुन पुगेको सैनिक संस्था वर्तमान अवस्थामा पनि देशको पहिचान र अस्तित्वका लागि एउटा आधार खम्बा हो । यस परिप्रेक्ष्यमा राष्ट्रसेवकका रूपमा संलग्न सेवकहरूप्रति जनश्रद्धा हुनुलाई अस्वाभाविक लिन मिल्दैन । सैनिक जीवनपछि राजनीतिक क्षेत्रमा प्रवेश गरेर इतिहासमा उल्लेखनीय स्थान लिन सफल व्यक्तित्वहरू हामी धेरै पाउन सक्दछौं ।

Biswasdip Tigela
विश्वको घटना परिघटना र देश विकासको इतिहासलाई सूक्ष्म रूपबाट हेर्ने हो भने सैनिक पृष्ठभूमि बोकेका राजनीतिक नेतृत्वले नै विश्वका मुलुकहरूमध्ये धेरैलाई धनी र शक्तिशाली बनाएका छन् । इतिहासमै सैनिक पृष्ठभूमिको नेतृत्व प्राप्त नगरेको मुलुक अन्य मुलुकको तुलनामा पछाडि परेको पनि देख्न सक्दछौं । देश विकसित भएको कुरा विशेषतः प्रहरी प्रशासनको अनुशासन र प्रशासनले इंगित गर्दछ भने देश शक्तिशाली बनेको कुरा सैनिक सबलताले दर्शाउँदछ । त्यसैले आधुनिक विश्वमा सैनिकहरुको भूमिका झनै महत्वपूर्ण भएको छ । मिश्रको अलेक्जेन्ड्र्या नगरको स्थापना गर्ने सिकन्दरको नामले प्रसिद्ध, अलेक्जेन्डर मेसोडोनियाका राजा, महान योद्धा र सेनापति थिए । दोस्रो विश्वयुद्ध बेलाका सेनापति आइजन हावर (सन् १८९०–१९६९) अमेरिकाको ३४ औं राष्ट्रपति भए । सन् १९५७ मा यिनले आइजना हावर सिद्धान्त प्रतिपादन गरे । जर्ज वासिङ्टन राष्ट्रपति हुनुअघि सेनापति थिए । र, उनैको नामबाट वासिङटन डीसी नाम रहन गयो । त्यस्तै, अर्को नाम हो– एन्ड्र्यु ज्याक्सन । उनी पनि सेनापति भएपछि मात्र अमेरिकाको राष्ट्रपति बनेका थिए । ब्रिटिस पूर्व प्रधानमन्त्री विन्स चर्चिल (सन् १८७४–१९६५), कंगोका पूर्व राष्ट्रपति मोबुतु सिससाको (सन् १९९३–१९९७) पनि बेलायती सैनिक थिए । इटालीको एकीकरणमा उल्लेखनीय भूमिका निर्वाह गर्ने गौरीवाल्डी (सन् १८०७–१८८२) इटालीका महान देशभक्त क्रान्तिकारी तथा सेनापति थिए । कोर्सिका टापुमा जन्मिएका नेपोलियन बोनापार्टले (सन् १७६९–१८२१) फ्रान्समा सैनिक शिक्षा पाए । डाइरेक्टरी शासनकालमा उनले सर्डिनिया, अस्ट्रिया, इटालीलाई पराजित गरी त्यहाँ आफ्नो प्रभुत्व कायम गरे ।

चारैतिर विजय प्राप्त गरी स्वदेश फर्किदा उनको भव्य स्वागत गरियो । उनले आफ्नो शक्ति र जनविश्वासको प्रभावमा डाइरेक्टरीको विघटन गरी काउन्सिल शासन व्यवस्थाको सूत्रपात गरे । सन् १८०४ मा उनले आफूलाई फ्रान्सको सम्राट घोषणा गरे। उनी विश्वका महान सेनापति र कुशल प्रशासक थिए । सन् १६९८ मा नील नदीको युद्धमा र सन् १८०५ मा टे«फलगरको युद्धमा फ्रान्सलाई पराजित गर्ने विश्वविख्यात सेनापति नेल्सनले (सन् १७५८–१८०५) सन् १८०५ मा भएको टे«फलगरको युद्धमा नै वीरगति प्राप्त गरे । नेल्सनलाई उच्च व्यक्तित्वको रूपमा लिइन्छ ।

भेनेजुयलाको सिमोन बोलिभिया (सन् १७८३– १८३०), जर्मनीका मार्टिन बोरमान (सन् १९००–१९४५), भारत उडिसाका सुवासचन्द्र बोस (सन् १८९७–१९४५), क्युवाका राहुल क्यास्ट्रो (सन् १९३१–हालसम्म), उरुग्वेका जस गार्भसियो आर्टिगस (सन् १७६४–१८५०), जर्मनका रेडल्फ वाल्टर रिचार्ड हिस (सन् १८९४–१९८७), अमेरिकाका स्टान्ली आलेन (सन् १९५४–हालसम्म), भियतनामका भो यागुन ग्याप (सन् १९१२–हालसम्म), लेवनान बेरुतका हुसेन नासल्ला (सन् १९६०–हालसम्म), पानामाका ओमार टोरिजस (सन् १९२९–१९८१), रुवाण्डाका पोल काग्मी (सन् १९५७–हालसम्म) र सन् १९४९ मा चीनको जनक्रान्तिका सूत्रधार माओत्सेतुङ (सन् १८९३–१९७६) हुन् । उनले सन् १९४९ को गृहयुद्धमा च्याङकाई सेकलाई परास्त गरी शासन आफ्नो हातमा लिई देशलाई जनवादी गणतन्त्र चीन घोषणा गरी देशका प्रथम अध्यक्ष भए । उनले चीनमा कम्युन प्रणाली लागु गरेर ग्रेट लिप परवार्डको योजना चलाए । सन् १९६६–१९६७ मा सांस्कृतिक क्रान्ति गर्ने माओ आधुनिक चीनका निर्माता मानिन्छन् । स्वयं माओत्सेतुङले पनि गरिबीको कारण राजनीतिक जीवनअघि सैनिक जीवन बिताएका थिए ।

अस्ट्रियामा जन्मेका एडोल्फ हिटलर (सन् १८८८–१९४६) सन् १९३३ मा जर्मनीका चान्सलर भए । उनले नाजी पार्टीको गठन गरेका थिए । उनी सत्तामा आएपछि प्रजातन्त्रलाई तिलाञ्जली दिएर जर्मनीका अधिनायक बने । भर्साइको सन्धिलाई भंग गरेर सन् १९३९ मा पोल्यान्डमा आक्रमण गरेकाले द्वितीय विश्वयुद्धको सुरुआत भयो । उनी यहुदीहरूलाई घृणा गर्दथे । त्यसैले उनले यहुदीहरूको हत्या गरी वालघारी यहुदीविहीन जर्मन बनाए । स्काउटका स्थापक लर्ड वेडन पावेलले पनि लामो समय सैनिकमै जीवन बिताएका थिए । इजरायली पूर्वप्रधानमन्त्री इज्याक रबिनले पनि १३ वर्षसम्म लामो सैनिक जीवन बिताएका थिए । नाइजेरियामा केही वर्षअघि सम्पन्न राष्ट्रपति पदको चुनावमा आफ्नो १५ वर्षे शासन पद्धति पुनः पूर्वसैनिक शासक जनरल अनहेगन अनसान्जोले विजय हासिल गर्नुभएको छ । चिलीका पूर्व राष्ट्रपति जनरल अस्तुत पिगस्तुलाई चर्चित व्यक्तित्व मानिन्छ । कंगोका राष्ट्रपति लोरेङ कविला तथा अर्जेन्टिनाका मिलियर मिसर भूतपूर्व सैनिक शासक नै थिए । कुनै बेला विश्वका शक्तिशाली अमेरिकी पूर्वराष्ट्रपति जर्ज डब्लु बुस पनि नेसनल गार्ड सैनिक नै थिए ।

परम्परागत वेद, पुराण, मुन्धुम अर्थात् लोककथा, देवकथाहरूमा पनि देवताहरू नै लडाइँ गरेको र सैनिक पोसाक लगाएको देखिन्छ । नेपालको सन्दर्भमा पनि हेर्ने हो भने सैनिक जीवन र राजनीतिक संलग्नता ज्यादै ऐतिहासिक र गौरवमय पाउँछौं । पहिला–पहिलाको इतिहासमा सैनिक तथा निजामति तर्फका काम प्रधानसेनापतिले नै हेर्दथे । काजी, चौतारा, कमान्डर इन चिफ आदि पद प्रधानसेनापतिको पूर्वस्वरूप हुन् । काजीपद पहिलोपटक पृथ्वीनारायण शाहबाट कालु पाण्डेले प्राप्त गरेको हुनाले उनी नै नेपालका प्रथम सेनापति हुन् भन्नुमा अत्युक्ति हुनेछैन । कालु पाण्डेपछि क्रमशः वंशराज पाण्डे, दामोदर पाँडे, अभिमान सिंह आदि काजीका रूपमा प्रधानसेनापति भएका थिए ।

वि.सं. १८९० मा भीमसेन थापा पहिलोपटक कमान्डर इन चिफ भएका र नेपालको संविधान अनुसार सिइनसिको नेपाली रूपान्तर प्रधानसेनापति हुने भएकाले प्रथम काजीका रूपमा कालु पाण्डेलाई र प्रथम प्रधानसेनापतिको रूपमा भीमसेन थापाको नाम लिनुपर्ने हुन्छ । आर्थिक कठिनाइका कारण भीमसेन थापाको पतनसँगै जागिर खोसिएका जंगबहादुर राणा पनि राजा रणजित सिंहको फौजमा भर्ती हुन पुगेका थिए तर स्वास्नीको मृत्युले काठमाडौं फर्कनुपर्‍यो । उनी प्रथम राणा प्रधानमन्त्री बन्न पुगे । नालापानीको युद्धमा शत्रुको मुटु थर्काउने वीर योद्धा बलभद्र कुँवर पनि आर्थिक विपन्नताको कारण रणजित सिंहको फौजमा भर्ती भई पन्जावका लाहुरे बनेका थिए । प्रथम विश्वयुद्धबाट फर्किएर क्याप्टेन दलबहादुर थापा मगर सुवासचन्द्र बोसको अजाद हिन्दू फौजमा भर्ती भई भारतीय स्वतन्त्र संग्राम लड्दा दिल्लीको सेन्ट्रल जेलमा झुन्डिनुपरेको थियो ।

किरात धर्मका रक्षक, प्रचारक नेपालको १७ आंै राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दजस्ता व्यक्तित्वले पनि केही समय ब्रिटिस सैनिक जीवन बिताएका थिए । वि.सं. २००७ सालको क्रान्ति सफल पार्न लेफ्टिनेन्ट रामप्रसाद राईको नेतृत्वमा रहेको मुक्तिसेनामा भूपू सैनिकहरूले प्रजातन्त्रको स्थापना गर्न निर्णायक भूमिका निर्वाह गरेको इतिहास हामी सामु छिपेको छैन । जे.बी याक्थुम्बा, नारदमणि थुलुङ राजनीतिक फाँटमा उदाउनुअघि सैनिक नै थिए । त्यस्तै, गोर्खा राष्ट्रिय मुक्तिमोर्चाका पूर्वप्रमुख नेता सुवास घिसिङले दार्जिलिङमा ऐतिहासिक एवं अस्वाभाविक रूपमा राजनीतिक प्रतिनिधित्व गर्दै आउनुभएको थियो । उहाँ पनि भारतीय सेनाका नायक (कर्पोरल) दर्जा लिई फर्कनुभएको हो । रसुवाका डि.बि. लामा, तनहूँका नरबहादुर गुरुङ, संखुवासभाका धर्मबहादुर गुरुङ, कास्कीका नरबहादुर गुरुङ, ले.क. लालकाजी गुरुङ, कुलबहादुर थेवे, गिरीप्रसाद बुढाथोकीमगर, श्रीप्रसाद बुढाथोकीमगर, भीमबहादुर मगर, इन्द्रहाङ लिम्बू, सुबेदार लालसिंह गुरुङ, देवानसिं राई, जयप्रसाद राई, पदमबहादुर गुरुङ, मे. दिपक गुरुङ, नारायणसिं पुन, पूर्व सेनापति रुकमाङ्गत कटुवाल, वामदेव गौतम, कुमार फुदोङ आजको राजनीति यात्रापूर्व सैनिक वा प्रहरी जवान नै हुनुहुन्थ्यो । यसरी सैनिक जीवनबाट राजनीतिक तथा समाजसेवामा लागेका उल्लेखनीय व्यक्तिहरूको नाम यहाँ उल्लेख गर्दा लामो सूची बन्न जान्छ ।

सैनिक जीवन र राजनीतिक संलग्नताको बारे सरसर्ती चर्चा गर्ने हो भने सैनिक जीवनपछि राजनीतिक क्षेत्रमा लागेर चम्किला तारा बन्नुभएका भूतपूर्व सैनिकहरू विश्वमा र नेपालमा पनि अत्यधिक रहनु भएका छ । प्रस्तुत तथ्यले सैनिक जीवन बिताइरहेका व्यक्तिहरूसँग देशभक्ति भावना, समाजसुधारको चिन्तन, विकास प्रगतिको लक्ष्य र राष्ट्र तथा राष्ट्रियताप्रति गहिरो माया छ; वफादारिता छ । साँच्चै नै सैनिकहरू राष्ट्रको तथा राजनीतिक पहरेदारी गर्न सक्षम हुन्छन् भनेर स्पष्ट देखिएको छ । सैनिक पृष्ठभूमि भएका नेताले नै देशलाई सम्मुन्नत र शक्तिशाली बनाएको देशविदेशको इतिहासले पनि नेपाल सैनिक पृष्ठभूमि बोकेका कुशल नेतृत्वको प्रतीक्षामा रहेको आभास हुन्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७