पूर्वराजालाई माधव नेपालको सुझाव : चुनाव जितेर प्रधानमन्त्री बन्नुस्


२० माघ २०८०, शनिबार
Madhav nepal gyanendra

काठमाडौँ । सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले देश राम्रोसँग नचलेको भए राम्रो प्रधानमन्त्रीको रुपमा देशलाई विकल्प दिन पूर्वराजा ज्ञानेन्द्र शाहलाई सुझाव दिएका छन् ।

आज (शनिबार) ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘राज्य शासन प्रणाली ठिक ढंगले चलेको छैन भने र मुलुक राम्ररी चलाउन सकेनन् भन्ने लागेको भए नेता भई चुनाव जितेर प्रधानमन्त्री बन्दै देशको नेतृत्व गर्नु ।’

उनले देशमा अहिले प्रतिगामी शक्तिहरुले टाउको उठाउने र व्यवस्थालाई समाप्त पार्ने काम भइरहेको बताउँदै राजतन्त्रले प्रकृतिको एकलौटी लुट मच्चाएको आरोप लगाए । राजतन्त्रले लुम्बिनी विकास कोष, पशुपति विकास कोष, जनकपुरमा पनि त्यही ढंगले बाहिरबाट आएका अनेक श्रोतसाधनहरुलाई एकलौटी कब्जा गरेको उनको आरोप थियो ।

अध्यक्ष नेपालले सरकारको अहिलेको स्थितिसँग आफू सन्तुष्ट नरहेको जिकिर गरे । उनले आफ्नो पार्टी मुलुकमा विद्यमान स्थितिको बारेमा गम्भीर रहेको जनाए । अहिलेका समस्या समाधानका लागि गम्भीर विचार मन्थन हुन जरुरी रहेको उनको भनाइ थियो ।

‘हामी हाम्रो पार्टी, हाम्रो मुलुकमा विद्यमान स्थितिको बारेमा गम्भीर छौं । अहिलेको स्थितिसँग हामी सन्तुष्ट छैनौँ । तर असन्तुष्ट मात्रै भएर पनि केही हुँदैन । असन्तुष्टि समस्याको समाधान होइन । समस्याको समाधान भनेको खोजेर पत्ता लगाउने हो । समस्याका कारण पत्ता लगाउनु पर्छ । खोजी गर्नुपर्छ । त्यसको समाधानको बारेमा गम्भीर विचार र मन्थन हुनुपर्छ’ उनले भने । अध्यक्ष नेपालले विश्वविद्यालयहरूमा विद्यार्थीहरू कमी भइरहेको बारेमा गहन अध्ययन गर्न जरुरी रहेको उल्लेख गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७