प्रहरी जवानले गरे श्रीमती र साढे दुई वर्षको छोराको हत्या

हत्यापछि आफै प्रहरी कार्यालय पुगेर भने–श्रीमतीको दवाव सहन नसकेर मारें


२१ माघ २०८०, आईतवार
dang

दाङ । दाङमा एक प्रहरी जवानले श्रीमती र साढे २ वर्षीय छोराको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत प्रहरी जवान पिमलाल नेपालीले श्रीमती टीका बिक र साढे दुई वर्षीय छोरा सुशान्तको हत्या गरेका हुन् ।

पिमलालले घोराहीस्थित एक होटेलमा श्रीमती र छोराको हत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी जनकबहादुर मल्लले जानकारी दिए । रोल्पा रुन्टिगढीका पिमलाल श्रीमती टीका र छोरा सुशान्तसँग गए राति घोराहीस्थित एक होटेलमा बास बसेका थिए । श्रीमती र छोरा शनिवार मात्रै रोल्पाबाट घोराही आएका थिए ।

आज बिहान पिमलालले श्रीमती टीका र छोराको हत्या गरेको डिएसपी मल्लले जानकारी दिए । श्रीमतीसहित छोराको हत्या गरेका पिमलाल आफै जिल्ला प्रहरी कार्यालयमा पुगेर आफूले हत्या गरेको जानकारी गराएका थिए । श्रीमतीले जागिर भएको ठाउँमा बसेर घरमा बेवास्ता गरेको भन्दै पटक पटक भनेको र सहन नसकेर हत्या गरेको दाबी उनले प्रहरीसमक्ष गरेका छन् ।

‘मैले श्रीमती र छोराको हत्या गरें भनेर प्रहरी जवान कार्यालयमा भन्न आएको थियो,’ डिएसपी मल्लले सुनाए, ‘पछि उसले भनेको होटेलमा गएर हेर्दा श्रीमती टीका र छोरा सुशान्तको शव होटेलको कोठामा फेला पर्‍यो ।’ उनका अनुसार पीमलालले श्रीमती टीका र छोराको घाँटी सलले कसेर हत्या गरेको देखिएको छ । हत्याको एकिन कारण खुलिनसकेको प्रहरीले जनाएको छ । प्रहरी जवान पिमलाल प्रहरीको नियन्त्रणमा रहेको र उनीसँग घटनाबारे अनुसन्धान भइरहेको डिएसपी मल्लले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७