भूकम्प पुनर्निर्माणसम्बन्धी एकीकृत कार्यविधि बन्दै


२१ माघ २०८०, आईतवार
Jajarkot

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनकरण तथा व्यवस्थापन प्राधिकरण भूकम्पपछिको पुनर्निर्माणसम्बन्धी कार्यविधि निर्माणमा जुटेको छ । विसं २०७२ को भूकम्पपछि बनाइए पनि पछि नयाँ कार्यविधि नबनेकाले यस पटक एकीकृत कार्यविधि निर्माणमा प्राधिकरण जुटेको हो ।

तत्कालीन समयमा पुनर्निर्माण प्राधिकरका धेरै जिम्मेवारी विपद् प्राधिकरणमा हस्तान्तरण गरिएको थियो । त्यसपछि भूकम्प पुनर्निर्माणको कार्यविधि नै नबनेकाले पहिलो पटक कार्यविधि निर्माण हुँदैछ । त्यसबेला सङ्घमार्फत नै पुनर्निर्माणको काम अघि बढाइएको थियो ।

यस पटक स्थानीय तहलाई मुख्य जिम्मेवारी दिएर काम अघि बढाउने गरी कार्यविधि निर्माण भइरहेको प्राधिकरणका नीति तथा योजना महाशाखा प्रमुख, सहसचिव भरतमणि पाण्डेले जानकारी दिए । ‘हामीले स्थानीय तहलाई बढी जिम्मेवार र भूमिका दिनेगरी पुनर्निर्माणका लागि एकीकृत कार्यविधि अन्तिम चरणमा पुर्‍याएका छौँ’, उनले भने, ‘पहिला बनेको कार्यविधिमा प्रदेश, स्थानीय सरकार खासै सहभागी थिएनन् । यसपाली स्थानीय सरकारमार्फत काम गर्नै गरी कार्यविधि अघि बढाएका छौँ ।’

यस पटक प्रवलीकरण, पुनर्निर्माण र पुनःस्थापनलाई छुट्टाछट्टै व्यवस्था गरिने जनाइएको छ । कस्तो अवस्थामा प्रवलीकरण हुने, कस्तो अवस्थामा पुनर्निर्माण र कस्तो अवस्थामा पुनःस्थापना गरिने भनेर छुट्टै व्यवस्थासहितको एकीकृत कार्यविधि तयार पारिने प्राधिकरणले जनाएको छ । पुनर्निर्माणको कामसहितको कार्यविधि निर्माणका लागि प्राधिकरणको टोली केहीअघि मात्रै भूकम्प प्रभावित क्षेत्रमा पुगेर सुझाव सङ्कलन गरी फर्किएको छ । स्थलगत अवलोकनपछि आएको सुझावलाई समावेश गरी कार्यविधि निर्माण हुने प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले बताए ।

कार्यविधि अन्तिम चरणमा रहेकाले चाँडै गृह मन्त्रालयमा पठाइने र मन्त्रालयको राय लिएर कार्यविधिलाई अन्तिम रुप दिने तयारीमा रहेको प्राधिकरणले जनाएको छ । कात्तिक १७ गते आएको जाजरकोट भूकम्पमा ८० हजार घर भत्किएका छन् । अहिले अस्थायी आवास निर्माणको काम जारी रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७