मुगुमा आगलागी : बहिनी झरनालाई बचाउन गएका विशाल आफै पनि बचेनन्


२२ माघ २०८०, सोमबार
fire

मुगु । मुगुको खत्याड गाउँपालिका–२ गाडेखोलाको एक गोठमा आइतबार राति भएको आगलागीमा एकै घरका दुई बालबालिकाको जलेर मृत्यु भएको छ । दुवै शब आगोले जलेर चिन्न नसकिने अवस्थामा फेला परेको थियो ।

जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक विरेन्द्र थापाका अनुसार राति गोठमा आगलागी भएको थियो । आमा सरस्वती सन्ज्यालसहित १४ वर्षीय छोरा विशाल सन्ज्याल र १२ वर्षीय छोरी झरना सन्ज्याल घरको गोठमासँगै सुतेका थिए ।
आगलागीपछि आमा बाहिर निस्कन सफल भए पनि छोराछोरी निस्किन नसकेपछि जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । घटना लगतै प्रहरी चौकी श्रीकोटबाट प्रहरी टोली घटना स्थलमा पुगेको थियो ।

बेलुका खाना खाइ उनीहरू सुत्न गएका थिए । राति २ बजेतिर घरभित्र एक्कासी आगो दनदनी बल्यो । त्यो कुरा विशालले थाहा पाए । । लगत्तै विशालकी आमा सरस्वती र उनी बाहिर निस्के । विशालकी आमा छिमेकीसँग गुहार माग्न थालिन् । विशाल बहिनी बचाउन घरभित्र पसे । सुतिरहेकी बहिनी बचाउन गएका बिहाल बाहिर निस्कन सकेनन् । उनी बहिनीसँगै आगोमा जलेर खरानी भए ।

विशाल ७ कक्षामा र झरना ४ कक्षामा स्थानीय जनजागरण मावि सेरीमा पढ्दै थिए । मृतक बालबालिकाका बाबु लालु सञ्जयाल मजदुरी गर्न भारत छन् । आगलागीबाट लालुको घरसँगै जोडिएका उनका भाइ नरदिप र डिल्ली सञ्ज्यालको घरमा समेत क्षति पुगेको छ।अहिले स्थानीयको सहभागितामा आगो नियन्त्रण प्रयास भइरहेको छ । सोमबार बिहानसम्म पनि आगो नियन्त्रणमा आएको थिएन । आगलागी भएको गाउँ जिल्ला सदरमुकाम गमगढी देखि १६ कोष टाढा रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७