बालेनलाई मन्त्री गुरुङको जवाफ : निर्माण नसकिंदै धरहरामा पार्किङ गर्न मिल्दैन

‘तीन तलामुनि नागरिक जाँदा अक्सिजनको मात्रा मिलेन भने जिम्मेवार को हुन्छ ?’


२२ माघ २०८०, सोमबार
sita gurung
फाइल फोटो

काठमाडौँ । सरकारले धरहरा निर्माण सम्पन्न नभई पार्किङ गर्न नमिल्ने स्पष्ट पारेको छ । आज (सोमबार) संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सहरी विकासमन्त्री सीता गुरुङले निर्माण सम्पन्न नभई धरहरामा पार्किङ गर्नु गैरजिम्मेवार काम भएको बताइन् । उनले आफूखुशी नगर्न महानगर प्रमुख बालेन्द्र शाहलाई सचेत समेत गराइन् । मन्त्री गुरुङले बालेनले समन्वय र सम्पर्क नै नगरेको भन्दै यसरी गए राम्रो नहुने चेतावनी दिएकी हुन् ।

‘एक महिना पर्खेको भए राम्रो हुन्थ्यो, समन्वय र सम्पर्क नगर्ने । यसमा सरकार जिम्मेवार हुन सक्दैन,’ उनले भनिन्, ‘अहिलेसम्म प्राथमिकतामा उहाँहरूले राख्नु भएको छैन । उहाँहरू यसरी गए राम्रो हुँदैन ।’ उनले धरहराको निर्माण नसकिँदै पार्किङका लागि प्रयोग गरिएको बताइन् । निर्माण नसकिँदै पार्किङ गर्न नमिल्ने उनले दोहोर्‍याइन् ।

मन्त्री गुरुङले निर्माण नै सम्पन्न नभएकाले महानगरले मान्ने-नमान्ने प्रश्न नै नभएको पनि बताइन् । ‘महानगरले मान्ने नमान्ने हुन्न । निर्माण सम्पन्न भएको छैन, बिल भुक्तानी कसले गर्ने ? हामीले पनि जनताका लागि गरेको हो,’ उनले थपिन्, ‘लामो समय लागेको सत्य हो । तर, निर्माण सम्पन्न हुन दिनुपर्छ । समन्वय आवश्यक छ ।’

अहिले बत्ती नै जडान नभएको तथा अग्नि नियन्त्रणको काम पनि नभएकाले प्रयोग गर्न नहुने उनको भनाइ छ । ‘तीन तलामुनि नागरिक जाँदा अक्सिजनको मात्रा मिलेन भने जिम्मेवार को हुन्छ ?’ उनको प्रश्न छ । सोमबार बिहान मात्र बालेनले सामाजिक सञ्जालबाट महानगरलाई धरहरा प्रयोग नगर्न पत्र आएको बताउँदै आक्रोश पोखेका थिए । उनले सरकारको पत्र कार्यान्वयन नगर्ने पनि बताएका थिए । काठमाडौँ महानगरले व्यापारिक क्षेत्र न्युरोडमा सवारी पार्किङ निषेध गरी धरहरा र काठमाडौँ भ्यू टावरमा पार्किङको व्यवस्था मिलाएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७