जतिसुकै शक्तिशाली व्यक्ति भए पनि सार्वजनिक जग्गा हडप्नेलाई कारवाही गर्नुपर्छ : गगन थापा

‘सरकारले लय समात्न सकेन, जनतामा विश्वास गुम्दै’


२४ माघ २०८०, बुधबार
Gagan thapa 1 scaled

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जतिसुकै शक्तिशाली व्यक्ति भए पनि कानुन विपरित काम गर्नेले सजाय पाउनुपर्ने बताएका छन् ।

बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा हडपेको आरोपमा पक्राउ परेका व्यवसायी अरुणकुमार चौधरीलगायतलाई लक्षित गर्दै प्रतिनिधसभाका सांसद समेत रहेका थापाले सो कुरा बताएका हुन् । ‘राजनीतिक, आर्थिक रुपमा जतिसुकै शक्तिशाली व्यक्ति होस्, सार्वजनिक जग्गा हडप्नेले सजाय पाउनु पर्छ ।’ प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद थापाले भने,’चाहे जग्गा मिच्ने होस्, सहकारी ठग्ने होस् यताको होस् कि उताको होस् दोषीले सजाय पाउनै पर्छ ।’

बाँसबारी छालाजुत्ताको जग्गा हिनामिना गरेको आरोपमा तत्कालीन च्याम्पियन फुटवेयरका सञ्चालक चौधरी, बाँसबारी छाला जुत्ता कारखानाका तत्कालीन अध्यक्ष अजितनारायण सिंह थापा र सिजी चाँदबागका अध्यक्ष सञ्जय ठाकुरलाई थुनामा छन् । गत माघ १८ गते बिहीबार पक्राउ परेका उनीहरूलाई आज छाड्न काठमाडौं जिल्ला अदालतको आदेश छ । सत्ता साझेदार नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले लय समात्न नसकेको बताएका छन् । उनले सरकारले लय समात्न नसकेको र सरकार निकायप्रति जनताको विश्वास गुम्दै गएको बताएका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्ना केही कमजोरी स्वीकारेर नयाँ संकल्प गरे पनि लय भने समात्न नसकेको उनको भनाइ छ । साथै सरकारी निकाय अड्डा अदालत, प्रहरी, प्रशासन, दल, वित्तीय संस्थाप्रति जनताको विश्वास गुम्दै गएको पाइएको भन्दै उनले जनतामाझ टुटेको भरोसालाई जागृत गराउन संसद सक्षम हुनुपर्ने बताए ।
‘प्रश्न नउठ्ने गरी विश्वविद्यालयहरूको नेतृत्व नियुक्ति गर्नुपर्छ’
कांग्रेस सांसद थापाले त्रिभुवन विश्वविद्यालयलगायतका नेतृत्व राजनीतिक भागबण्डाको आधारमा नियुक्ति नगर्न सरकारलाई दबाब दिएका छन् । त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रिया अघि बढिरहँदा उनले सबै विश्वविद्यालयको नेतृत्वको नियुक्ति राजनीतिक भागबण्डाको आधार नगर्न सरकारलाई सचेत गराएका हुन् ।

थापाले सरकारले कुनै पनि नागरिकले प्रश्न उठाउने मौका नपाउने गरी विश्वविद्यालयहरुको नेतृत्वको नियुक्ति गर्नुपर्ने बताए । उनले विद्यालयमा बालबालिकाहरुले सक्ने वातावरण निर्माण गर्ने काममा पनि सरकारले विशेष ध्यान दिनुपर्ने बताएका हुन् ।

थापाले भने, ‘सरकारले मौका पाएको बेलामा त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालयको नेतृत्वहरु भागबण्डा नगरीकन विश्वविद्यालयको नेतृत्वको नियुक्ति गर्दाखेरी नै कुनै पनि नागरिकले टिप्पणी गर्न नसक्ने गरी बनाउने मौकाबाट चुक्यो भने हाम्रा कुरा कुरा मात्रै हुन्छन् । हामीले यहाँ संसदबाट गर्ने काम र सरकारबाट गर्ने कामलाई आम नागरिकका सरोकारका विषयसँग जोड्न सक्छौं कि सक्दैनौ ? अहिले हामी केटाकेटीहरु विद्यालय पढ्न गएको देख्छौं हामी । थुप्रै विद्यालयहरु खुलेका छन् विद्यालयको भवन पनि बनेका छन् । पढ्छन् तर सिकिरहेका छैनन् ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७