कांग्रेस तीन करोड घाटामा : लेभी बुझाउने र नवीकरण गर्ने घटे


७ फाल्गुन २०८०, सोमबार
sanepa congress

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेस करिब तीन करोड घाटामा देखिएको छ । महासमिति बैठकमा पेस गर्न तयार पारिएको लेखा प्रतिवेदन अनुसार उक्त घाटा देखिएको हो ।

आर्थिक वर्ष २०७८/०७९ मा १४ करोड आसपास आम्दानी गरेको कांग्रेसले खर्च भने १७ करोड ९० लाख ७८ हजार २२२ रुपैयाँ गरेको छ । यसरी आम्दानीको तुलनामा खर्च धेरै भएपछि सो आर्थिक वर्षमा कांग्रेसको हिसाब खाता ३ करोड ८४ हजारले घाटा भएको छ । यस्तै, गत आर्थिक वर्ष जम्मा ३ करोड ६४ लाख आम्दानी गरेको कांग्रेसले खर्च भने ७ करोड ९९ लाख रुपैयाँभन्दा धेरै गरेको छ । गत आर्थिक वर्षमा पनि कांग्रेसको हिसाब किताब ४ करोड ३५ लाख १८ हजारले घाटामा छ ।

सदस्यता लिने र नवीकरण गर्ने घटे
लेखा परीक्षण प्रतिवेदन अनुसार नेपाली कांग्रेसको सदस्यता लिने, नवीकरण गर्ने र लेभी बुझाउनेको संख्यामा कमी आएको छ । आर्थिक वर्ष २०७८÷०७९ र २०७९÷०८० को लेखा परीक्षण अनुसार कांग्रेसमा सदस्यता, लेभी र नवीकरण शुल्क बुझाउनेको संख्यामा ठूलो गिरावट आएको उक्त प्रतिवेदनमा दाबी गरिएको छ ।

राजनीतिक दलहरूले सदस्यता वितरण, नवीकरण र लेभी, चन्दा तथा सहयोग, ब्याज र प्रकाशन बिक्री बापत रकम आर्जन गर्ने गर्छन् । यी शीर्षकमध्ये सबैभन्दा धेरै रकम सदस्यता, नवीकरण र लेभीबाटै उठ्ने हो । सदस्यता लिने, नवीकरण गर्ने र लेभी बुझाउनेको संख्या नै घटेपछि समग्र हिसाव घाटामा गएको दाबी प्रतिवेदनमा उल्लेख छ ।

कांग्रेसले आर्थिक वर्ष २०७८/०७९ मा सदस्यता वितरण, लेभी र नवीकरण बापत ७ करोड ४३ लाख ३ हजार ५०१ रुपैयाँ सङ्कलन गरेको थियो । तर गत आर्थिक वर्ष २०७९/०८० मा यस बापत उठ्ने शुल्क घटेर जम्मा ५७ लाख ६० हजार ८०० रुपैयाँ सङ्कलन भएको छ । यो एक वर्षको अवधिमा सदस्यता नवीकरण, नयाँ सदस्यता र लेभीबाट उठ्ने रकममा ९९ प्रतिशतको गिरावट हो ।

२०७८/०७९ को तुलनामा गत आर्थिक वर्ष २०७९/०८० मा ६ करोड ८५ लाख ४२ हजार ७०१ रुपैयाँको गिरावट हो । यो तथ्याङ्कबाट पछिल्लो एक वर्षको अवधिमा नेपाली कांग्रेसको सदस्यता लिने, नवीकरण गर्ने र लेभी बुझाउनेको संख्यामा ठूलो गिरावट आएको पुष्टि गर्छ । यस बाहेक चन्दा तथा सहयोग बापत उठ्ने रकम समेत घटेको छ ।

आर्थिक वर्ष २०७८/०७९ मा यो शीर्षकमा ६ करोड ६८ लाख २४ लाख रुपैयाँ आर्जन गरेको थियो । यो शीर्षकबाट उठ्ने रकममा समेत आर्थिक वर्ष २०७९÷०८० वर्षमा जम्मा २ करोड ६५ लाख ६४ हजार रुपैयाँ मात्रै उठेको छ । यो एक वर्षमा चन्दा तथा सहयोग बापत उठ्ने रकममा ४ करोड २ लाख ५९ हजार ४२३ रुपैयाँको गिरावट हो ।

यस बाहेक, ब्याज बापत हुने आम्दानी समेत घटेको छ । आर्थिक वर्ष २०७८/०७९ मा ब्याज बापत ६७ लाख १७ हजार १८५ रुपैयाँ आम्दानी भएको थियो । गत आर्थिक वर्षमा यो शीर्षकको आम्दानी रकम घटेर ३८ लाख ३१ हजार २७० रुपैयाँमा कायम छ । यसबाहेक, प्रकाशन बिक्री बापत उठ्ने रकममा समेत ठूलो गिरावट आएको छ ।

अघिल्लो आर्थिक वर्षमा यो शीर्षकमा ११ लाख ४९ हजार उठेकामा गत आर्थिक वर्षमा ९४ हजार ६०० मात्रै उठेको छ । अघिल्लो वर्ष यी सबै शीर्षकबाट नेपाली कांग्रेसले १४ करोड ८९ लाख ९४ हजार ८७ रुपैयाँ आर्जन गरेको थियो। जुन गत आर्थिक वर्षसम्म आइपुग्दा जम्मा आम्दानी घटेर ३ करोड ६४ लाख ७६ हजार २९७ रुपैयाँमा आइपुगेको छ । यो ११ करोड २५ लाख १७ हजार रुपैयाँभन्दा धेरैको गिरावट हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७