आइजी र एआइजीको ‘शितयुद्ध’ ले सशस्त्रमा ‘लफडा’

आइजीपी बन्न नपाएको रिस कर्मचारीमाथि !


१५ फाल्गुन २०८०, मंगलवार
apf 3

काठमाडौं । कुनै पनि संघ संस्था र संगठन चुस्त रुपमा अगाडि बढ्न पहिलो आवश्यकता संगठन र कर्मचारीबीचको एकता हो । अझ संगठनको नेतृत्व गरिरहेका मुलीबीचको समझदारी, सहकार्य र एकता अपरिहार्य हुन्छ । जसले मातहतका कर्मचारी र संयन्त्रलाई समेत काम गर्नका लागि उर्जा प्रदान गर्छ ।

तर, सशस्त्र प्रहरी बलमा भने यसको विपरीत शैली देखिन्छ । जसले संगठनका काम कारवाहीलाई चुस्त बन्न वाधा पुर्‍याएको मात्र छैन संगठनभित्रका कर्मचारी संयन्त्रमा कामप्रतिको उत्साहमै व्यवधान सिर्जना गरेको छ । विशेष गरी प्रहरी महानिरीक्षक राजु अर्याल र एआइजी सीपी गौतमबीचको ‘शितयुद्ध’ को असर सिङ्गो सशस्त्र प्रहरी संगठनभित्र देखिएको चर्चा चल्ने गरेको छ । अर्याल र गौतमबीचको बेमेल, असहयोग र एकले अर्कालाई नस्वीकार्ने शैलीको शिकार कर्मचारी र संगठन बनिरहेको छ ।

‘भुसको आगो’ जस्तै आइजी र एआइजीबीचको ‘शितयुद्ध’ ले संगठनले गर्ने निर्णय कार्यान्वयनमा असहजता पैंदा भइरहेको संगठनभित्रै चर्चा हुने गरेको छ । प्रहरी महानीरिक्षक राजु अर्याल द्वन्द्वकालमा माओवादीसँगको भीडन्तमा परी घाइते भएकाहरुलाई राहत प्याकेज घोषणा गर्ने अर्कोतर्फ एआइजी सीपी गौतम भने उनीहरुलाई हटाउनु पर्छ भनेर लाग्ने शैलीको सशस्त्र प्रहरीमा चर्चा चल्ने गरेको छ । सशस्त्र प्रहरी महानिरीक्षकले ल्याएका कार्यक्रमलाई कसरी असफल बनाउने भन्नेतर्फ मानव स्रोतका एआइजी गौतम लागेको चर्चा र बहस हुन थालेको हो ।

सशस्त्र प्रहरीको बार्षिकोत्सवमा आइजी अर्यालले द्वन्दमापीडितहरु लागि राहत प्याकेज घोषणा गरेका थिए । तर सशस्त्र प्रहरीका कर्मचारीप्रति सशस्त्रका एआईजी सीपी गौतमले निर्मम हुने संकेत गर्दै उनीहरुलाई सेवाबाटै हटाउनु पर्ने अभिव्यक्ति दिए । केही दिनअघि अस्पताल व्यवस्थापन समितिको बैठकमा एआईजी गौतमले त्यस्ता कर्मचारीलाई जबरजस्त अवकाशमा पठाउनु पर्ने बताएपछि आइजीपी र एआइजीपीबीचको समन्वय र सम्बन्ध राम्रो नभएको सन्देश दिएको छ ।

गौतमले कर्मचारी संगठनका लागि भार भएको संकेत गरेका थिए । ‘फौजमा शारीरिक रुपमा तन्दुरुस्त कर्मचारी चाहिन्छ’, उनको तर्क थियो । जबकी तिनै कर्मचारीले आफ्नो ज्यानको समेत माया मारेर संगठन बचाएका थिए । बैठकमा सहभागी स्रोतका अनुसार उनीहरुले नमाने जबरजस्त भए पनि अवकाश दिनुपर्ने धारणा उनको थियो ।

तर सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले केही दिनअघि वार्षिकोत्सवको अवसर पारेर अपाङ्गता भएका कर्मचारीलाई जम्मा ४ प्रतिशत ब्याजमा ऋण उपलब्ध गराउने र बिना ब्याज अपाङ्गमैत्री सामान किन्न एक लाखसम्म ऋण दिने बताएका थिए । आइजीपीको कर्मचारीप्रतिको माया र सुविधा दिनुपर्छ भन्ने मनसाय हुँदाहुँदै एआईजी गौतम त्यसको विपक्षमा उभिएको भन्दै संगठिनभित्र उनको भित्रभित्रै आलोचना भइरहेको छ । हिजो द्वन्द्वकालमा लडेका कर्मचारीको मनमा के पर्छ भन्नेसम्म एआईजी गौतमले हेक्का नराखेको चर्चा हलचोकमा चल्ने गरेको छ । त्यसो त एआईजी गौतम संगठनको हरेक कार्यमा फरक मत राख्ने र आवश्यक भन्दा माथि जान्ने बन्ने गरेको स्रोत बताउँछ ।

केही समयअघि आईजीपी अर्यालले लामो समयसम्म पनि मिसन लगायतको अवसर नपाएकाले धेरै कर्मचारी बर्षौंसम्म काम गर्दा पनि सुशोभन तथा छातीमा तक्मा नभएकाहरुका लागि केही व्यवस्था गर्न लागेका थिए तर, एआईजी गौतमले विमति राख्दै बनाउन लागिएको कार्यविधिमा व्यवधान खडा गरेको केही अधिकृतहरू बताउँछन् ।

‘एआईजी गौतम मानव स्रोत विभागमा आएपछि कर्मचारीको मनोबल खस्काउने मात्रै कार्य गरेका छन’, स्रोत भन्छ, ‘भोलि उहाँ पनि अवकाशमै जाने हो, अहिले कर्मचारीलाई दबाबमा राखेर भोलि बाटोमा भेटिँदा सलाम गर्ने पनि नहोलान् भन्ने सम्भावना देखिंदै गएको छ ।’ गौतम नेपाली सेनाबाट आएकाले उनी सशस्त्र प्रहरी कर्मचारीसँग त्यति हेलमेल नभएको स्रोत बताउँछ । उनी आइजीपीको दावेदार समेत रहेका थिए । तर सरकारले उनलाई आइजीपी नबाएको रिस कर्मचारीमाथि पोख्न थालेको स्रोतको दावी छ । उनी अहिले मानवस्रोत विभागमा छन् । उनी मानवस्रोत विभागमा आएदेखि नै कर्मचारीहरु सरुवा बढुवा समेतमा समस्या उत्पन्न भएको हल्चोक स्रोतले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७