डा. रुइत गृह जिल्लामा आँखाका बिरामीको शल्यक्रिया गर्दै


१७ फाल्गुन २०८०, बिहीबार
eye taplejung

ताप्लेजुङ । नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइतले आजदेखि गृह जिल्लाका मोतियाबिन्दुका बिरामीको शल्यक्रिया सुरु गर्ने भएका छन् । उनले आजदेखि ताप्लेजुङको फुङ्लिङमा आँखाका समस्या भएका सर्वसाधरणको शल्यक्रिया गर्ने जानकारी दिए ।
जिल्लास्थित नेपाल नेत्रज्योति सङ्घले फुङ्लिङ नगरपालिका र सेवा फाउण्डेसनसँगको सहकार्यमा तिलगङ्गा आँखा अस्पतालको प्राविधिक सहयोग लिएर शल्यक्रियासहितको आँखा शिविर सञ्चालन गरेको थियो ।

शिविरमा आँखाको परीक्षण तथा उपचार गर्न डा. रुइत गृहजिल्ला आएको सङ्घका उपाध्यक्ष खगेन्द्र अधिकारीले बताए । विभिन्न गाउँ–गाउँबाट शल्यक्रियाका लागि सिफारिस भइआएका ९८ जना आँखारोगीको शल्यक्रिया गर्न सुरु भएको उनले जानकारी दिए । आजदेखि सुरु भएको शल्यक्रिया तीन दिनसम्म सञ्चालन हुने सङ्घले जनाएको छ ।

डा. रुइतले शल्यक्रिया गर्ने भएपछि आज नाम दर्ता गर्नेको संख्या उल्लेख्य रहेको सङ्घका कोषाध्यक्ष निरोज श्रेष्ठले बताए । सेवा लिन आउने सबै सेवाग्राहीलाई सहज ढङ्गले सेवा दिएर पठाउने योजनाका साथ काम भइरहेको सङ्घका जिल्ला सहसचिव युवराज गिरीले बताए । उनका अनुसार अहिले नेत्रज्योति सङ्घ ताप्लेजुङद्वारा सञ्चालित डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रमा आँखाको परीक्षण तथा उपचार भइरहेको छ ।

आँखाको परीक्षणका लागि आइपुगेको तिलगङ्गा आँखा अस्पतालको प्राविधिक टोलीले आज बिहानैदेखि परीक्षण तथा उपचार सुरु गरेको छ । परीक्षणका क्रममा छनोट भएका मोतियाबिन्दुका बिरामीको डा. रुइतको नेतृत्वमा रहेको टोलीले शल्यक्रिया गर्ने आँखा उपचार केन्द्रका क्लिनिक इञ्चार्ज काजीमान गुरुङले बताए । सङ्घले यसअघि मैवाखोलाको ढुङ्गेसाँघु र मिक्वाखोलाको खोक्लिङमा पुगेर आँखाको परीक्षण गरी ३७ जना मोतियाबिन्दुका बिरामीको छनोट गरिसकेको छ । उनीहरूको पनि आज शल्यक्रिया गर्ने योजना रहेको गुरुङले बताए । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७