सामाजिक अभियन्ताको टोली सोलुमा, यस्तो छ उद्देश्य


१८ फाल्गुन २०८०, शुक्रबार
solu

सोलुखुम्बु । जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पारेको असरका विषयमा विश्व समुदायको ध्यानाकर्षण गराउन सामाजिक अभियन्ताको टोली सोलुखुम्बुको लुक्ला आइपुगेको छ । सो टोली आज लुक्लाबाट फाक्दिङ पुग्ने बताइएको छ ।

टोलीले जलवायु परिवर्तनले हिमाली महिलाहरूमा पारेको प्रभाव, हिमाल कालापत्थरमा परिणत हुँदै गएको, समग्र पर्यटन क्षेत्रमा पारेको प्रभावलगायतका विषयमा स्थानीय तथा जनप्रतिनिधिसँग अन्तरक्रिया गर्नेछ । अन्तर्राष्ट्रिय महिला दिवस २०२४ सगरमाथा क्षेत्रको कालापत्थरमा मनाउन टोली आज रामेछापको मन्थलीबाट लुक्ला आइपुगेको हो । विभिन्न क्षेत्रमा अग्रणी भूमिकाका रहेका २५ जना महिलाको टोली बिहीबार बिहान काठमाडौँबाट प्रस्थान गरेर रामेछापको मन्थली आइपुगेको थियो ।

यही फागुन १९ गते स्याङ्बोचेमा ‘जलवायु न्यायका लागि सरकार र समुदायलाई जोड्न महिला सशक्तिकरण’ भन्ने नारासहित स्थानीय जनप्रतिनिधि र स्थानीय समुदायसँग अन्तरक्रिया कार्यक्रम गर्ने साथसाथै फाउण्डेसनका अध्यक्ष प्रजिता अध्यक्ष कार्कीले जानकारी गराएकी छन् ।

उनले भनिन्, ‘स्याङबोचेमा कार्यक्रमपछि पदयात्रा गर्दै ८ मार्चमा कालापत्थरमा पुगेर राष्ट्रिय–अन्तर्राष्ट्रिय समुदायलाई हिमाल पग्लिँदा समुदायमा परेको असर, कृषि र पर्यटन क्षेत्रमा परेको मारलगायतका विषयमा ध्यानाकर्षण गराउने छौँ ।’ यसअघि संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले पनि सोलुखुम्बुको स्याङबोचेमा पुगेर हिमाल पग्लिरहेको विषयप्रति विश्व समुदायको ध्यानाकर्षण गराएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७