प्रदेश संरचना संघ र स्थानीय तहलाई जोड्ने महत्वपूर्ण सेतु : प्रधानमन्त्री


१९ फाल्गुन २०८०, शनिबार
Prachanda lumbini pradesh sabha

लुम्बिनी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संघीय प्रणालीमा प्रदेश संरचना संघ र स्थानीय तहलाई जोड्ने महत्वपूर्ण सेतु भएको बताएका छन् ।

लुम्बिनी प्रदेशसभाको शुक्रबारदेखि सुरु हिउँदे अधिवेशनको दोस्रो बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले संघीयताका नवीन र असल अभ्यासको अनुकरण र अवलम्बन गर्दै नेपालले संघीयता र लोकतन्त्रको अनुपम अभ्यास गरेर विश्वसामु देखाउनुपर्ने बताए । उनले भने, ‘नेपालको संघीयता अभ्यास उदाहरणीय बनाउनु पर्छ, त्यसका लागि हामी सबैले अन्तरमनदेखि नै संकल्प गर्न जरूरी छ ।’

लुम्बिनी प्रदेशले विकास, समन्वय, सहकार्यलगायतका विषयमा महत्पूर्ण योगदान गरेको भन्दै प्रधानमन्त्री दाहालले संघीयता कार्यान्वयन र सेवा प्रवाहका क्षेत्रमा अझ धेरै काम बाँकी रहेको बताए । ‘आगामी दिनमा संघीयता कार्यान्वयन, विकास र समृद्धि एवं सेवा प्रवाहका क्षेत्रमा धेरै काम बाँकी छ’, उनले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्रले अथाह सम्भावना देखाएको छ, त्यसलाई अवसरमा बदलेर मात्रै व्यवस्थाविरोधीहरूको षड्यन्त्र निस्तेज पार्नुछ । यसका निम्ति सबैले साझा, समन्वयात्मक र सकारात्मक योगदान गर्नुपर्छ ।’

प्रधानमन्त्रीले संविधान निर्माणको आठ वर्ष पूरा हुँदा समेत संघीयता कार्यान्वयनमा रूचि नदेखाउने, वित्तीय र प्रशासनिक अधिकारको हस्तान्तरण गर्न नचाहने प्रवृत्ति अहिले पनि विद्यमान रहेको उल्लेख गर्दै आफू त्यसलाई तोड्न लगातार लागिरहेको स्पष्ट पारे । प्रदेशलाई आर्थिक अधिकार दिनै नचाहने, कथम्कदाचित दिइहालेमा पनि सशर्त अनुदानका नाममा केन्द्रबाटै योजना र बजेट तोकेर पठाउने प्रचलन विगतमा विद्यमान रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले यसपटक त्यस्तो सोच र परम्परा तोड्ने संकल्प गरिएको बताए ।

संघीय कानुनहरू निर्माणमा सरकार सक्रियरूपमा लागिरहेको जानकारी दिँदै प्रधानमन्त्री दाहालले संघीय शिक्षा ऐनको मस्यौदा संसदमा प्रस्तुत भइसकेको, संघीय निजामती सेवा ऐन दर्ताको प्रक्रियामा रहेको र प्रहरी ऐनलगायतका अन्य मस्यौदा पनि छिट्टै संसदमा प्रस्तुत हुने दाबी गरे । प्रधानमन्त्री दाहालले विश्वशान्तिका अग्रदूत गौतमबुद्धको जन्मभूमि लुम्बिनी शान्तिको उद्गमभूमि र पुण्यभूमिका रूपमा मात्रै परिचित नभएर विभिन्न परिवर्तनका आन्दोलनको नेतृत्व, अग्रगमन र परिवर्तनका नामले समेत उत्तिकै परिचित रहेको उल्लेख गरे । उनले भने, ‘लुम्बिनी क्रान्ति र शान्तिको समिश्रणको सबैभन्दा राम्रो दृष्टान्त हो ।’

नेपाली राजनीतिक आन्दोलन, सामाजिक जीवन, ऐतिहासिकता र सम्भावनाका दृष्टिले लुम्बिनी प्रदेश अग्रणी स्थानमा रहेको उनको भनाइ थियो । प्रधानमन्त्री दाहालले जनयुद्ध, ऐतिहासिक जनआन्दोलनलगायतका राजनीतिक–सामाजिक परिवर्तनमा लुम्बिनी प्रदेश र प्रदेशवासीले महत्वपूर्ण योगदान रहेको स्मरण गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७