बालुवाटारमा माओवादी केन्द्रको आकस्मिक सचिवालय बैठक


२१ फाल्गुन २०८०, सोमबार
maobadi 3 scaled

काठमाडौं । नयाँ समीकरणका विषयमा छलफल र तयारी गर्न नेकपा माओवादी केन्द्रले आकस्मिक रुपमा सचिवालयको बैठक बोलाएको छ । वर्तमान सत्ता समीकरण संकटतर्फ धकेलिएपछि माओवादीले सचिवालय बैठक बोलाएको हो । बैठक बालुवाटारमा जारी छ ।

माओवादी र कांग्रेसबीच सत्ता गठबन्धनमा खटपट आएसँगै वैकल्पिक समीकरणबारे छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा माओवादीको पदाधिकारी बैठक बसिरहेको जानकारी स्रोतले दियो । प्रधानमन्त्रीले कांग्रेससहितका दलको सहमतिमा टीआरसी विधेयक शुक्रबार नै टुंगोमा पुर्‍याउने तयारी गरे पनि कांग्रेसले समय लिनुपर्ने बताएको थियो । कांग्रेस असन्तुष्ट भएकै बेला वैकल्पिक समीकरणसम्मको तयारीमा माओवादीले एमाले, रास्वपा र जसपासँग चरणवद्ध रूपमा छलफल गरेको छ ।

गए राति प्रधानमन्त्रीले एमाले, रास्वपा र जसपासँग बालुवाटारमा छलफल गरेका थिए । आइतबार एकै दिन दुई पटकसम्म एमाले अध्यक्ष केपी ओलीसँग प्रधानमन्त्रीले छलफल गर्नुले सत्ता गठबन्धन संकटतर्फ गएको बुझिएको छ । कांग्रेससँग ससझदारी भएपछि प्रधानमन्त्रीले एमाले, रास्वपा र जसपासँग मिलेर टीआरसी विधेयक अगाडि बढाउने तयारी गरेका छन् ।
आजै टीआरसी विधेयक अगाडि बढाउने विषयमा कांग्रेस असन्तुष्ट देखिएपछि प्रधानमन्त्रीले एमाले, रास्वपा र जसपाको बैठक बोलाएका छन् । सत्ता गठबन्धनको बैठक स्थगित गरेर प्रधानमन्त्रीले एमाले, रास्वपा र जसपाको बैठक बोलाएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७