गठबन्धनमा सामेल हुने दल निश्चित नभएसम्म मन्त्रालय बाँडफाँड हुँदैन : महासचिव पोखरेल


२१ फाल्गुन २०८०, सोमबार
shankar pokhrel

काठमाडौं : नेकपा एमालेका महासचिव शंकर पोखरेलले गठबन्धनमा सामेल हुने दल भन्ने निश्चित नभएसम्म मन्त्रालय बाँडफाँड नहुने बताएका छन् । नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीलाई पनि वर्तमान सत्ता गठबन्धनमा सामेल गराएर अघि बढ्ने प्रयास रहेको महासचिव पोखरेलको भनाई छ ।

सोमबार साँझ चार दलका शीर्ष नेताहरूबीच भएको सहमति सार्वजनिक गर्दै महासचिव पोखरेलले मन्त्रिपरिषद् गठन र साझा न्यूनतम कार्यक्रमलाई छिटोभन्दा छिटो टुंगो लगाएर अघि बढ्ने बताए ।

‘कुन–कुन दल सामेल हुने भन्ने निश्चित नभएकाले अहिले मन्त्रालय बाँडफाँड हुँदैन, आज चार दलबीच भएको सहमति सार्वजनिक भएकै छ, हामीलाई बाँडफाँडमा समस्या छैन तर नयाँ आउनेलाई समस्या हुने ठानेर अहिले मन्त्रिपरिषद बिस्तार गर्दैनौ’ एमाले महासचिव पोखरेलले भने–‘प्रमले भेटिरहनुभएको छ, धेरै दल यो प्रक्रियामा आउँछन्, नेकपा एस, लोसपा, नाउपासँग संवाद भइरहेको छ, उहाँहरू सकारात्मक हुनुहुन्छ ।’

महासचिव पोखरेलले यसअघिको गठबन्धनबाट सरकारले डेलिभरी दिन नसकेर नयाँ गठबन्धन बनाउनुपरेको बताए । ‘जनतामा बढेको निराशा चिर्ने, सुशासनलाई अगाडि बढाउन र नयाँ आशा जगाउन यो गठबन्धन बनेको हो, नागरिकले महसुस गर्ने गरी काम हुनेछन् हामीले त्यो रफ्तारमा काम गर्ने टोली बनाउँछौँ, छिटो मन्त्रिपरिषदले पूर्णता पाउँछ र सुशासन र डेलिभरीमा प्रतिबद्धता देखाउने छ,’ महासचिव पोखरेलले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७