गाउँपालिका अध्यक्षसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा


२२ फाल्गुन २०८०, मंगलवार
Akhtiyar

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको चंखेली गाउँपालिकाका तत्कालीन अध्यक्ष धनलाल चौलागाईं र निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाहीसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

बाटो निर्माण योजनामा अनियमितता गरेको आरोपमा उनीहरूविरुद्ध अख्तियारले आज (मंगलबार) विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । भ्रष्टाचारको आरोप लाग्नेमा गाउँपालिका अध्यक्ष चौलागाईं र निमित्त प्रमुख प्रशासकीय अधिकृत शाहीसँगै सोही गाउँपालिकाको वडा नम्बर–३ का तत्कालीन वडाअध्यक्ष सालीग्राम ऐडी पनि छन् । यस्तै इन्जिनियर रुद्रबहादुर वली, लेखापाल धर्मवीर पल्ली मगर, असिस्टेन्ट सब–इन्जिनियर अजय भन्ने अजबहादुर बुढा, उपभोक्ता समितिका अध्यक्ष टेकबहादुर बुढा र सचिव हंशबहादुर ऐडी पनि रहेको अख्तियारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

‘गाउँपालिका अध्यक्ष चौलागाईंसहित पाँच जनाले चंखेली गाउँपालिका–३ स्थित मेलादेखि वासलधारासम्म बाटो निर्माण योजनामा उक्त कार्यको नापजाँच नै नगरी काम नभएको योजनाको काम भएको भनी गलत प्राविधिक मूल्याङ्कनसहित नापी किताब तयार गरी कार्य सम्पन्न प्रतिवेदन समेत दिई भुक्तानीको टिप्पणी र आदेशलाई सदर गरी गराई झुट्टा बिल भरपाई तथा नक्कली कागजातहरुलाई आधार मानी १० लाख २९ हजार ३२५ रुपैयाँ उपभोक्ता समितिलाई भुक्तानी दिएको देखिएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

यस्तै उपभोक्ता समितिका अध्यक्ष टेकबहादुर बुढा र सचिव हंशबहादुर ऐडीले सम्झौता बमोजिमको काम नभएकोलाई पनि भएको भनेर झुट्टा बिल भरपाई र हाजिरी लगायतका कागजात पेश गरेको पाइएको अख्तियारको दाबी छ । वडा नम्बर–३ का तत्कालीन वडाअध्यक्ष सालीग्राम ऐडीले पनि नगरेको कामलाई कार्य सम्पन्न भएको भनेर गाउँपालिकालाई सिफारिस गरेको पाइएको छ । भ्रष्टाचार गर्ने ८ जनाविरुद्ध १० लाख २९ हजार ३२५ रुपैयाँ बिगो समेत जफत गर्न अख्तियारले मागदाबी गरेको छ ।

a

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७